Wednesday, June 26, 2019

चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया सुरु

प्रतिस्पर्धाबाट उपाध्यक्ष छान्न दरखास्त आहवान
काठमाडौं, १० असार– सरकारले चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया अघि बढाएको छ । चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएको चार महिनापछि खुला प्रतिस्पर्धाबाट उपाध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गरेको छ । चिकित्सा शिक्षा र सेवा सुधारका लागि आयोग गठन गर्न लागिएको हो ।
चिकित्सा शिक्षा ऐनअनुसार सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठन गरेको समितिले उपाध्यक्ष सिफारिस गर्न सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आहवान गरेको छ । योग्यता पुगेकाहरूले असार २४ सम्म उपाध्यक्षका लागि दरखास्त दिन सक्नेछन् । उपाध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा बीस वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ । समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा लिखित र मौखिक परीक्षा लिई आवेदकमध्येबाट उपाध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।
तीन जनामध्येबाट सरकारले एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ । चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री र सहअध्यक्ष शिक्षामन्त्री रहने व्यवस्था छ । आयोगमा कार्यकारी प्रमुखका रूपमा उपाध्यक्ष रहने व्यवस्था ऐनमा छ । आयोगमा सदस्यहरूको नियुक्ति भने शिक्षामन्त्रीको सिफारिस प्रधानमन्त्रीले गर्नेछन् ।



No comments:

Post a Comment