Sunday, January 19, 2014

केसीको अनसनप्रति सरकार गम्भीर भएन

समस्या त्रिविले नै आन्तरिक रूपमा सम्बोधन गर्ने विषय हो : उच्चस्तरीय बैठक
काठमाडौं, ४ माघ– चिकित्सा शास्त्र अध्ययन संस्थानमा विवादास्पद डा. शशि शर्मालाई डिन नियुक्ति र पूर्वाधार नभएका मेडिकल कलेजहरूको सम्बन्धनको विरोधमा प्रा. डा. गोविन्द केसीले सुरु गरेको आमरण अनसनप्रति सरकार अहिलेसम्म गम्भीर नभएको उसका गतिविधिले पुष्टि गरेको छ ।
मन्त्रिपरिषदका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका कुलपति खिलराज रेग्मी, शिक्षा र स्वास्थ्यमन्त्री क्रमशः माधव पौडेल र विद्याधर मल्लिक तथा त्रिविका पदाधिकारीहरूको शनिबार बसेको बैठकले मेडिकल कलेजहरूको सम्बन्धन रोकिएको भन्दै केसीको अनसनप्रति कुनै गम्भीरता प्रदर्शन गरेन ।
रेग्मीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि जारी विज्ञप्तिमा चिकित्साशास्त्र अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानको थप स्वायत्तताको विषयमा सरकारबाट एउटा कार्यदल गठन भइसकेको र नया“ मेडिकल कलेजहरूलाई सम्बन्धन दिइने कार्य हाललाई स्थगन गरिएको भन्दै केसीले उठाएका मुख्य मुद्दामा मौनता सा“धेको छ ।

मन्त्रिपरिषदका अध्यक्ष रेग्मी, शिक्षा र स्वास्थ्यमन्त्रीसहितको उच्चस्तरीय बैठक केसीले उठाएका मुद्दा त्रिविले आन्तरिक रूपमा व्यवस्थापन गरी सम्बोधन गर्न सकिने विषय भएको भन्दै त्रिविको प्रक्रियाभित्रबाट चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल र मेडिकल एसोसिएसनका पदाधिकारीस“ग छलफल गरी तुरुन्त समाधान गर्ने प्रतिबद्धता त्रिविका पदाधिकारीले व्यक्त गरेको भन्दै जिम्मेवारीबाट पन्छिएको छ ।
बैठकपछि शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जारी विज्ञप्तिमा केसीले डिनबाट शर्मालाई हटाउनुपर्ने भनी राखेको माग र निवर्तमान डिन डा. अरुण सायमीले पूर्वाधार नभएका मेडिकल कलेजहरूलाई सम्बन्धन दिन नमान्दा त्रिविका पदाधिकारीहरूको दबाबले आफूले राजिनामा दिनुपरेको भनी उठाएको सवालमा रेग्मीसहितको उच्चस्तरीय बैठकमा कुनै छलफल भएन ।
बैठकपछि जारी विज्ञप्तिमा मन्त्रिपरिषदका अध्यक्ष एवं कुलपति रेग्मीले आमरण अनसनमा बसेका केसीको स्वास्थ्य स्थिति, शिक्षण अस्पतालको सेवा प्रभावित भई सर्वसाधारणमा पर्न सक्ने प्रतिकूल असरप्रति सजग रही यथाशिघ्र  समस्या समाधान गर्न निर्देशन दिएको उल्लेख छ । तर, सरकार प्रमुखकै सक्रियतामा बसेको बैठकले केसीले उठाएका मुद्दा सम्बोधन गर्ने ठोस निर्णय नगरी उनको स्वास्थ्यप्रति कुनै गम्भीरता नदेखाएको चिकित्सकहरूले बताएका छन् ।



No comments:

Post a Comment