Friday, January 24, 2014

प्रधानसेनापति माल्दिभ्स र श्रीलंका भ्रमणमा जाने

मन्त्रिपरिषदद्वारा विभिन्न निर्णय
काठमाडौं, ९ माघ– प्रधानसेनापति गौरवसमसमेर राणा एक साताका लागि श्रीलंका र माल्दिभ्सको भ्रमणमा जाने भएका छन् । उनी माल्दिप्स र श्रीलंकाका सेनाध्यक्षको निमन्त्रणामा माघ १५ देखि २३ सम्मका लागि भ्रमणमा जान लागेका हुन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रक्षा मन्त्रालयको प्रस्तावबमोजिम प्रधानसेनापति राणालाई माल्दिभ्स र श्रीलंकाको भ्रमणमा जान स्वीकृति दिएको जानकारी सरकारका प्रवक्ता एवं सूचनामन्त्री माधव पौडेलले जानकारी दिए ।
पूर्वराजारानीको सम्पत्ति ट्रष्टको नाममा
मन्त्रिपरिषदले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको नाममा रहेको जग्गा नेपाल ट्रष्टको नाममा कायम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको जग्गालाई नेपाल सरकारबाट ट्रष्टको नाममा सार्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले आफू मातहतको सामाजिक समितिमा पठाएको जानकारी पौडेलले दिए । समितिको निर्णयबमोजिम पूर्वराजा वीरेन्द्र र उनको परिवारबाट सरकारको नाममा ल्याइएको जग्गालाई ट्रष्टको नाममा ल्याइने जानकारीसमेत पौडेलले दिए ।
बुढीगंगाका लागि कर्मचारीको दरबन्दी सिर्जना

सरकारले निर्माण सुरु हुन लागेको २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजनाका लागि राजपत्रांकित ११ जना प्राविधिक कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको छ । आयोजनालाई आवश्यक इन्जिनियरको पदपूर्ति गर्न दरबन्दी सिर्जना गरिएको हो ।

नागरिक लगानी कोषमा शर्मा
सरकारले नागरिक लगानी कोषको रिक्त सञ्चालकमा महालेखा नियन्त्रक सुमन शर्मालाई मनोनयन गरेको छ ।
सांस्कृतिक संस्थानमा भट्टराई
सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई सांस्कृतिक संस्थानको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रिपरिषदले संस्थानमा अर्को व्यवस्था नभएसम्मका लागि भट्टराईलाई अध्यक्षको समेत काम गर्ने जिम्मेवारी दिएको हो ।
न्याय सेवामा ७ जना सहसचिवमा बढुवा 
मन्त्रिपरिषदले न्याय सेवा आयोगको सिफारिसमा जेष्ठता र कार्यक्षमताको आधारमा न्याय सेवाका ७ उपसचिवलाई सहसचिवमा बढुवा गरी विभिन्न कार्यालयमा पदस्थापन गरेको छ ।
सरकारी वकिल समूहका मुरारीप्रसाद पौडेल र नरेन्द्रबहादुर चन्दलाई सहन्यायाधिवक्ता (सहसचिव) बढुवा गरी क्रमशः पुनरावेदन अदालत सरकारी वकिल कार्यालय बुटवल र महेन्द्रनगर पदस्थापन गरिएको छ । सरकारी वकिल समूहकै उपसचिव गोपीदत्त भट्टराई र सन्दीपराज रेग्मीलाई सहन्यायाधिवक्तामा बढुवा गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायधिवक्ताको कार्यालयमा पदस्थापन गरिएको छ ।
त्यसैगरी सरकारी वकिल समूहकै उपसचिवद्वय लोकराज बराल र खेमराज ज्ञवालीलाई सहन्यायाधिवक्तामा बढुवा गरी पुनरावेदन अदालत सरकारी वकिलको कार्यालय इलाम र दिपायलमा पुनःस्थापन गरिएको छ ।
कानुन मन्त्रालयकी उपसचिव लीलादेवी गड्तौलालाई सहसचिवमा बढुवा गरी निर्वाचन आयोगमा पदस्थापन गरिएको छ । कानुन मन्त्रालयका सहसचिव ऋषिराज भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।




No comments:

Post a Comment