Thursday, January 9, 2014

कांग्रेसमा तीन नेतालाई प्रधानमन्त्रीका लागि झगडा नगर्न सभासदहरूको दबाब

काठमाडौं, २५ पुस– कांग्रेस सभासदहरूले प्रधानमन्त्री को हुने भन्ने सवालमा झगडा नगर्न पार्टीका तीनै जना शीर्ष नेतालाई दबाब दिएका छन् । कांग्रेसले संविधानसभाबाट एक वर्षभित्र संविधान बनाउनका लागि सुझावसहितको कार्यतालिका बनाउन गठन गरेको समितिले बिहीबार बोलाएको अन्तक्र्रियामा बोल्दै सभासदहरूले तीन शीर्ष नेताबीच सहमति गरेर प्रधानमन्त्री तय गर्नसमेत दबाब दिए ।
उनीहरूले संविधानसभाबाट एक वर्षमा संविधान निर्माण गर्नका लागि आमजनताले चुनावमा कांग्रेसलाई विश्वास गरेर ठूलो पार्टी बनाएको उल्लेख गर्दै सरकारमा भन्दा संविधान निर्माणमा जोड दिन नेताहरूलाई आग्रह गरे ।
प्रधानमन्त्रीका लागि कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनै जनाले दाबी गरेपछि जनतामा नकारात्मक सन्देश गएको उल्लेख गर्दै सभासदहरूले तीनै जना नेताबीच सहमति गरेर नेतृत्व चयन गर्न सुझाएका छन् ।
‘कांग्रेसमा तीनै जना नेताले प्रधानमन्त्रीमा हानाथाप गरिरहेको सन्देश जनतामा गएको छ । अघिल्लो संविधानसभा कांग्रेसको नेतृत्व नभएकाले संविधान नबनाई विघटन भएको हो भनेर जनताले यसपटक कांग्रेसलाई संविधानसभामा ठूलो दल बनाएर पठाएका हुन् । हामीले संविधान बनाउन छाडेर सरकारको नेतृत्वका लागि झगडा ग¥यौं भने जनताप्रति विश्वासघात हुन्छ । प्रधानमन्त्री जो भए पनि सहमतिमा तय गर्नोस्’ अन्तक्र्रियामा बोल्ने आफूसहित सबैजसोले राखेको भनाइ उद्धृत गर्दै सभासद रामहरि खतिवडाले भने ।
उनका अनुसार सभासदहरूले संविधानसभाको बैठक राष्ट्रपति या मन्त्रिपरिषदका अध्यक्ष कसले बोलाउने भन्ने विषयमा भइरहेको वादविवादले समेत जनतामा निराशा बढाइरहेको उल्लेख गर्दै त्यस्ता सामान्य विषयमा विवाद गर्न नहुने सुझाएका थिए । संविधान बैठक राष्ट्रपतिले नै बोलाउनुपर्ने उनीहरूको धारणा थियो ।
सभासदहरूले संविधानसभाको प्रत्यक्ष चुनावतर्फबाट आफूहरू छानिएको दुई महिना हुन लागिसक्ता पनि आफूहरूलाई संविधानसभामा कसरी प्रस्तुत हुने भनेर पार्टीले कुनै प्रशिक्षण नदिएकामा समेत नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ‘हामी झन्डै दुई महिनासम्म हाई काढेर बसिरहनुपरेको छ । हामीलाई प्रशिक्षण दिई धारिलो बनाएर संविधानसभामा प्रस्तुत गर्नुहोस्, तबमात्र कांग्रेसको नीति र एजेन्डा संविधानसभामा बलियोस“ग राख्न सकिन्छ’ उनीहरूको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं सभासद महेश आचार्यले संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्न नेताहरूमा दृढ इच्छाशक्ति र संकल्प हुनुपर्ने उल्लेख गर्दै कांग्रेसका शीर्ष नेताहरूमा त्यस्तो दृढ संकल्प नदेखिएकामा चिन्ता व्यक्त गरेका थिए । ‘कार्यतालिकामात्र बनाएर संविधान बन्दैन । संविधान बनाउन दढ इच्छाशक्ति र संकल्प चाहिन्छ । तर, कांग्रेसका नेताहरूमा त्यस्तो इच्छाशक्ति र दृढ संकल्प अहिलेसम्म देखिएको छैन’ उनको भनाइ थियो ।
अन्तक्र्रियामा आनन्द ढुंगाना, तारिणीदत्त चटौत, महेन्द्र यादव, रामकृष्ण यादव र मोहन बस्नेतलगायतका सभासदले बोलेका थिए । अन्तक्र्रियामा कांग्रेस तीनै जना नेता कोइराला, देउवा र पौडेलले सरकारको नेतृत्वका लागि आफूहरूबीच विवाद नहुने र सहमतिमा निर्णय हुने आश्वासन सभासदहरूलाई दिएका थिए ।
उनीहरूले संविधानसभा र संसदमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुने उल्लेख गर्दै सबै दललाई मिलाएर संविधान निर्माण र सरकार गठन गर्न पार्टीले सबैसित छलफल अघि बढाइरहेको बताएका थिए । तीनै जना नेताले नेपाली जनताको आकांक्षाअनुरूप एक वर्षभित्रमा संविधान निर्माण गर्नुपर्ने अहम् दायित्व कांग्रेसको का“धमा आएको बताएका थिए ।
संविधान निर्माणसम्बन्धी सुझाव समितिले आगामी पा“च दिनभित्र संविधान निर्माणका सम्बन्धमा आ–आफ्नो सुझाव पेस गर्न सभासद्हरूलाई निर्देशन दिएको छ । विगतमा चार–चार वर्षसम्म पनि संविधान बन्न नसकेको वास्तविकतालाई दृष्टिगत गरी एक वर्षभित्र संविधान जारी गर्न आवश्यक कार्यविधि के के हुन सक्छ भन्ने सम्बन्धमा सभासदहरूस“ग सुझाव मागिएको कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए ।

No comments:

Post a Comment