Tuesday, January 21, 2014

शिक्षामन्त्रीको झारा टार्ने निर्देशन

काठमाडौं, ६ माघ– शिक्षामन्त्री माधव पौडेलले आमरण अनसनरत डा. गोविन्द केसीका जायज मागप्रति बेवास्ता गरी त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई नियुक्त गरिएको निर्णय यथाशीघ्र पुनर्विचार गर्न भन्दै आइतबार झारा टार्ने खालको निर्देशन दिएका छन् ।
‘विश्वविद्यालय एक स्वायत्त र स्वतन्त्र प्राज्ञिक संस्था रहेको र त्यसभित्रका निर्णयहरू कानुनबमोजिम विश्वविद्यालयले नै लिने कुरामा सरकार प्रतिबद्ध रहेको छ’ भन्दै लिखितपत्रमा शिक्षामन्त्री एवं त्रिविका सहकुलपति पौडेलले डा. केसीको स्वास्थ्य स्थिति गम्भीर हु“दै गइरहेको यथार्थप्रति गम्भीर नभई त्रिविका पदाधिकारीलाई डिन नियुक्तिको निर्णय यथाशीघ्र पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
केसीको स्वास्थ्य स्थिति गम्भीर भइसकेको र देशभरका अस्पतालमा चिकित्सा सेवा ठप्प हुन लागिसक्ता पनि डिनलाई तत्काल हटाउन नभनी यथाशीघ्र पुनर्विचार गर्न मन्त्री पौडेलले दिएको निर्देशन निर्णय फिर्ता गराउन नभई ‘पब्लिक कन्जम्प्सन’ का लागिमात्र भएको चिकित्सकहरू बताउ“छन् ।

उपकुलपति हिराबहादुर महर्जनले नियुक्त भइसकेका डिनलाई त्रिविसम्बन्धी ऐननियमअनुसार हटाउन नमिल्ने सार्वजनिक रूपमा जिकिर गरेकाले पनि डा. केसीको मागप्रति सरकार गम्भीर नरहेको र शिक्षामन्त्रीको निर्देशनसमेत झारा टार्ने खालको रहेको पुष्टि भएको छ ।
पौडेलले लिखित निर्देशनपत्रमा ‘केसीले डिनको राजिनामाको विषयलाई लिएर अनसन नतोडेको अवस्थामा यो समस्या विश्वविद्यालयभित्रको विषय भएको हु“दा सोही प्रक्रियाभित्र समाधान गर्न मन्त्रिपरिषदका अध्यक्ष एवं त्रिविका कुलपति खिलराज रेग्मीले शनिबार निर्देश गरिसकेको’ समेत उल्लेख गरेका छन् ।
सरकार प्रमुख एवं त्रिविका कुलपति रेग्मी र सहकुलपति एवं शिक्षामन्त्रीले नै डिनको राजिनामाको माग त्रिविको आन्तरिक प्रक्रियाभित्र रहेको विषय भनेर पन्छिनु जिम्मेवारीबाट भाग्नु र केसीले उठाएका मागप्रति उदासिनता देखाउनुबाहेक केही नभएको एक चिकित्सकले बताए । ‘उपकुलपति, रजिष्टार र रेक्टर नै नियुक्त गर्न र हटाउन सक्ने कुलपति र सहकुलपति नै त्रिविमातहतको डिन प्रमुखको नियुक्तिलाई लिएर उब्जिएको समस्यालाई त्रिविको आन्तरिक विषय हो भन्नु लज्जास्पद र गैर जिम्मेवारीको पराकाष्ठा हो’ ती चिकित्सकले भने ।
पौडेलले ‘चिकित्सा शास्त्र अध्ययन संस्थानमा हालै भएको डिन नियुक्ति गर्ने विश्वविद्यालयबाट लिइएको निर्णयप्रति उत्तरदायित्वबोध गरी यथाशीघ्र पुनर्विचार गरी अनसनमा रहेका डा. केसीको माग सम्बोधन गरी उनको जीवन रक्षा गर्न यो निर्देशन दिइएको’ उपकुलपति महर्जनलाई लेखेको पत्रमा उल्लेख छ ।
उपकुलपति महर्जनले भने डिनको नियुक्तिमा कानुनअनुसार पुनर्विचार हुन नसक्ने संकेत गरेका छन् । ‘नियमले डिनलाई हटाउन मिल्छ भन्ने छैन’ शिक्षामन्त्रीको निर्देशनबारेमा जिज्ञासा राख्दा महर्जनले भने ।
शिक्षामन्त्रीले लिखित पत्रमा संस्थानका डिन डा. प्रकाश सायमीले राजिनामा दिएपछि मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले त्रिविका सहकुलपति, उपकुलपतिसहितका पदाधिकारीहरूलाई हाललाई नया“ नियुक्तिको प्रक्रिया अघि नबढाउन सुझाव र सल्लाह दिएकोसमेत उल्लेख गरेका छन् ।
मन्त्रिपरिषदका अध्यक्ष एवं कुलपति रेग्मीको सुझाव र सल्लाहलाई बेवास्ता गरी त्रिविका उपकुलपति महर्जनसहितका पदाधिकारीले डिनमा शर्मालाई नियुक्ति गरेका हुन् भने उनीहरूमाथि सचेत गराई निर्णय फिर्ता गराउने या कारबाही गर्ने कार्य किन भएन भन्ने कुरा मन्त्री पौडेलले उल्लेख गरेका छैनन् ।
पौडेलले मेडिकल कलेजहरूलाई सम्बन्धन दिने कार्य हाललाई स्थगित गर्नेलगायतका अनसनरत केसीको माग सरकार र त्रिविले पूरा गरिसकेको दाबीसमेत गरेका छन् । उनले माग पूरा पूरा भइसकेपछि पनि केसीमाथि अनसन जारी राखेको आरोपसमेत लगाएका छन् ।
उनले पत्रमा केसीको माग सम्बोधन गरिएता पनि नवनियुक्त डिनको राजिनामा लिएर अनसन नतोडेको र त्यसबाट शिक्षण अस्पताल महाराजन्जमा सेवाग्राहीलाई प्रतिकूल असर परिरहेको उल्लेख गरेका छन् । उनले केसीको स्वास्थ्य स्थिति दिन प्रतिदिन गम्भीर बन्दै गइरहेको अवस्थामा सम्भव भएसम्मका सम्पूर्ण उपाय अवलम्बन गरी उनको जीवन रक्षा गर्न तथा शिक्षण अस्पताललाई सुचारु गराउन त्रिविका पदाधिकारीहरूको ध्यानाकर्षण गराएका छन् ।




No comments:

Post a Comment