Saturday, August 24, 2013

अख्तियारद्वारा वैदेशिक र अध्यागमनका ३५ कर्मचारी पक्राउ

नक्कली कागजातमा कामदारहरूलाई विदेश पठाएको अभियोग
विभागबाट सक्कली कागजातै गायब

काठमाडौं, ७ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यानपावर कम्पनीहरूसित गैरकानुनी लाभ लिई नक्कली काजगातका आधारमा नेपाली कामदारलाई विदेश पठाउने र त्यसमा सहयोग पु¥याउने ३५ जना कर्मचारीलाई शुक्रबार पक्राउ गरेको छ ।
वैदेशिक रोजगार विभागका कर्मचारीहरूलाई म्यानपावर कम्पनीहरूले पेस गरेका झूटा व्यहोराका कागजातलाई गैरकानुनी लाभ लिई कम्प्युटरमा इन्ट्री र भाषा अनुवाद गर्ने, ठीक छ भनी फाइल पेस गरी स्वीकृत दिएर वैदेशिक रोजगारमा पठाउने काम गरेको प्रमाणका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार विमानस्थलस्थित अध्यागमनका कार्यालयका कर्मचारीहरूलाई तिनै नक्कली कागजातमा छाप लगाई नेपाली कामदारलाई वैदेशिक रोजगारमा जान दिएको प्रमाणका आधारमा पक्राउ गरिएको हो । अध्यागमनका ती कर्मचारीले कागजात नक्कली भएको थाहा हु“दाहु“दै पनि गैरकानुनी लाभ लिएर छाप लगाई वैदेशिक रोजगारमा पठाउने गरेकोसमेत अख्तियारका अधिकारीले बताए ।
पक्राउ परेकाहरूमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरू निर्मला न्यौपाने, मञ्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कु“वर, कम्प्युटर अधिकृत हीराध्वज कार्की, नायव सुब्बाहरू शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदारहरू माधव भट्टराई, केशव बञ्जारा, भाषा अनुवादक रज उल्लाह, कम्प्युटर अपरेटरहरू सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा र कार्यालय सहयोगी यशोधा थापामगर छन् ।
अध्यागमन विभाग र कार्यालयबाट पक्राउ परेकामा शाखा अधिकृतहरू भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर वि.क., रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी, नायवसुब्बाहरू रामकुमार ओझा, जयबहादुर सिंह, लीलामरण पोखरेल, वरिष्ठ अध्यागमन सहायकहरू सञ्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरञ्जीवी अधिकारी छन् । उनीहरूलाई अख्तियारकै हिरासतमा राखिएको छ ।
अख्तियारबाट खटिएको विशेष टोलीले वैदेशिक रोजगार विभागका ८ अधिकृतसहित १७, अध्यागमका ११ अधिकृतसहित १८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामा वैदेशिक रोजगार विभागका ५, अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षका १२ जना तथा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र हाल विभागमा कार्य गर्दै १८ जनालाई छन् । वैदेशिक रोजगार विभागबाट निर्देशक रमेश मैनालीसहित ६ र अध्यागमनबाट दुई शाखा अधिकृतसहित पा“च जनालाई पक्राउ गरेको तीन दिनपछि पुनः ३५ जनालाई पक्राउ गरेको हो । अख्तियारले उनीहरूलाई हिरासतमा राखी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाउन अनुसन्धानलगायतका कारबाही अघि बढाइरहेको जनाएको छ ।
भ्रष्टाचारको अभियोगमा हालसम्म ४७ जना पक्राउ परिसकेकाले दुवै विभाग र विमानस्थलस्थित तिनका कार्यालयमा कर्मचारीको अभाव भएको छ ।
वैदेशिक विभागका कर्मचारीहरूले म्यानपावर कम्पनीलाई पूर्वस्वीकृति दिएका कामदारहरूको फाइल नै गायव पारेका छन् ।  विभागका महानिर्देशकले स्वीकृत गरेअनुसार कामदारलाई रोजगारीमा जानका लागि अन्तिम स्वीकृत दिने गरिन्छ । ३ वटा म्यानपावर कम्पनी प्रोग्रेसिभ प्लेसमेन्ट, सन्ना इन्टरनेसनल र एड्भान्स रिक्रुटमेन्टका नक्कली कागजातका आधारमा विभागले ७७ कामदारलाई विदेशमा जान स्वीकृति दिएको पाइएको छ । विभागका महानिर्देशकदेखि कर्मचारीहरू ‘अनुसन्धानको घेरामा’ रहेको अख्तियार स्रोतले उल्लेख गरेको छ ।
अन्तिम स्वीकृति शाखाका सबै कर्मचारी पक्राउ परेपछि विभागमा शुक्रबार अन्तिम स्वीकृतिको काममा ढिलाइ भएको थियो । विभागमा ९३ कर्मचारी छन् । विभागले पूर्व स्वीकृत शाखाका उपसचिव प्रदीप सुवेदीको नेतृत्वमा ६ कर्मचारीलाई अन्तिम स्वीकृत शाखामा खटाएको छ । ‘सिस्टम सिक्न केही समय लाग्ने भएकोले शुक्रबारसामान्य काम मात्र भयो, खासै हुन सकेन’ विभागका एक कर्मचारीले भने ।
वैदेशिक रोजगार विभागका कर्मचारीहरू नक्कली कागजातका आधारमा ७७ नेपाली कामदारलाई वैदेशिक रोजगारमा पठाएको र त्यसको सक्कली फाइल कार्यालयबाटै बेपत्ता पारेको अनुसन्धानबाट पत्ता लागेको जानकारी अख्तियारका अधिकारीले दिए । ती अधिकारीका अनुसार तत्कालीन महानिर्देशक पूर्णचन्द्र भट्टराईका पालामा म्यानपावर कम्पनीहरूले नै व्यक्तिगत स्वीकृतिका नाममा विदेश पठाउन बन्द गरेपछि रोकिएका हजारौं जनालाई म्यानपावर कम्पनी र कर्मचारीको मिलोमतोमा नक्कली कागजातका आधारमा अहिले धमाधम वैदेशिक रोजगारमा पठाइएको हो । म्यानपावर कम्पनीहरूले पछि कामदारहरूप्रति कुनै दायित्व नपर्ने भएकाले विभागका कर्मचारीहरूलाई मिलाई व्यक्तिगत स्वीकृतिका नाममा कामदारहरूलाई विदेश पठाउने गर्छन् ।
म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा पठाउनुअघि विभागबाट कुन कम्पनीमा, कुन पद र कति तलब सुविधामा कति जना कामदार पठाउने भन्ने पूर्व स्वीकृति लिएको हुनुपर्छ र त्यही कम्पनीमा पूर्वशर्तअनुसारै कामदार पठाउनुपर्छ ।
म्यानपावर कम्पनीहरूले पूर्वस्वीकृति लिएकोभन्दा कम्पनी, तलबसुविधा, पद सबै फरक भएको अर्कै कम्पनीमा कामदार पठाउन झूटो व्यहोराको कागज पेस गरेको र वैदेशिकका कर्मचारीहरूले आर्थिक लाभ लिई त्यही नक्कली कागजातका आधारमा वैदेशिक रोजगारमा पठाउन स्वीकृति दिई सक्कली कागजात बेपत्ता पार्नेजस्तो गम्भीर अपराध गरेको अख्तियारका अधिकारी बताउ“छन् ।  विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूको समेत त्यसमा मिलेमतो रहने गरेको छ । उनीहरूले त्यही नक्कली कागजातमा छाप लगाएर कामदारलाई विदेश पठाउन सहयोग गर्दै आएका छन् ।
म्यानपावर कम्पनीहरूसितको मिलेमतोमा वैदेशिक र अध्यागमनका कर्मचारीहरूले गर्दै आएको यो गैरकानुनी कार्यबाट नेपाली कामदारहरू विदेशमा ठगिने, दुःख पाउने, कम तलबसुविधा पाउने समस्या बढेको अख्तियारको ठम्याइ छ ।
यसअघि विभागबाट निर्देशक मैनाली, शाखा अधिकृत दीपक खतिवडा, कम्प्युटर अपरेटर पक्कुकुमार साह, रामप्रसाद पोखरेल, अरबी भाषा अनुवादक अवेददुल्ला र नासु चन्द्रहरि लुईटेल पक्राउ परेका थिए । श्रम डेस्कमा सबै पक्राउ परेपछि काम गर्नका लागि विभागले शाखा अधिकृत रिद्धि सिटौला र लवराज जोशीको नेतृत्वमा ४ कर्मचारी खटाएको छ । 















No comments:

Post a Comment