Saturday, August 3, 2013

चमेलियामा कोरियाई ठेकेदारद्वारा थप शर्त

काठमाडौं, १८ साउन– चमेलिया जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार कोरिया हाइड्रो एन्ड न्युक्लियर कम्पनीले ठेक्कालाई जारी राख्न विद्युत् प्राधिकरणसमक्ष थप शर्त राखेको छ । विद्युत् प्राधिकरण र ठेक्का तोड्ने चेतावनी दिएको कोरियाई ठेकेदारबीच शुक्रबार भएको वार्तामा उसले थप शर्त राखेको जानकारी स्रोतले दिएका छन् ।
कोरियाई कम्पनीले प्रोलंगेसन कस्ट (ठेक्का अवधि बढेको समयको लागत) बापत ८० लाख ५४ हजार डलर (करिब ८ करोड रुपैया“) भुक्तानी गर्नुपर्नेबाहेक प्राधिकरण, परामर्शदाता र सिभिल संरचना निर्माणको चिनिया“ ठेकेदार गेजुवाबीच वार्ता गरी आयोजना सम्पन्न गर्ने परिमार्जित कार्यतालिका बनाउनुपर्ने शर्तसमेत राखेको छ ।
उक्त कम्पनीले चमेलिया आयोजनाको पेनस्टकमा आएको समस्या समाधान गर्न ल्याउनुपर्ने स्टिल ब्लेडको यसअघि तय भएको रकममा १० प्रतिशत मूल्य बढाउनुपर्ने शर्तसमेत राखेको छ । तीन महिनाको अवधिमा स्टिलको मूल्य बढेको दाबी गर्दै १० प्रतिशत रकम बढाउन गरेको हो । स्टिल ब्लड ल्याउन कोरियाई कम्पनीलाई यसअघि ३० करोड रुपैया“ दिने सहमति भएको थियो ।
प्राधिकरणका अधिकारीले भने यसबीच अन्तर्राष्ट्रिय बजारमा स्टिलको मूल्य बढेको विश्वासिलो आधार पेस गर्न आग्रह गरेको छ । विश्वासिलो आधार पेस गरे थप रकम दिने र नसके नदिने अडान प्राधिकरणले राखेको छ ।
कोरियाई कम्पनीले आफूले ठेक्का सम्झौताअनुसार इलेक्ट्रोमेकानिकल उपकरणहरूको पूरै रकमको भुक्तानी दिनसमेत प्राधिकरणसित शर्त राखेको छ । प्राधिकरणले ती उपकरणको कुल मूल्यको ९० प्रतिशत भुक्तानी दिई १० प्रतिशत बा“की राखेको छ । कोरियाई कम्पनीले आफूसित आर्थिक अभाव भएको उल्लेख गर्दै उक्त रकम दिन आग्रह गर्दै बरु त्यसका लागि बैंक ग्यारेन्टी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कोरियाई कम्पनीले इलेक्ट्रोमेकानिकल उपकरणहरू एक वर्षअघि ल्याइसके पनि गेजुवाले सुरुङ, विद्युत् गृह र पेनस्टकलगायतका सिभिल संरचना निर्माण गर्न बा“की रहेका कारण जडान गर्न पाएको छैन । उक्त कम्पनीले आफूले ल्याएका उपकरण जडान गर्न नपाएका कारण बिग्रेमा पुनः खरिद गर्न प्राधिकरणले रकम दिनुपर्ने शर्तसमेत राखेको छ । वार्ताका क्रममा प्राधिकरणले बिग्रन सक्ने र वारेन्टीको समय सकिन लागेका उपकरणको सूची पेस गर्न कोरियाई कम्पनीलाई आग्रह गरेको छ ।
प्राधिकरणद्वारा सञ्चालक समिति सदस्य विवेक तातेडको संयोजकत्वमा गठित समितिले कोरियाई कम्पनीसित वार्ता गरेको हो । वार्ता सकारात्मक रहेको र सोमबार पुनः हुने जानकारी तातेडले दिए ।


No comments:

Post a Comment