Thursday, August 8, 2013

कांग्रेसद्वारा आदिवासी जनजातिलाई शुभकामना

काठमाडौं, २४ साउन– नेपाली कांग्रेसले १९ आँै विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाले शुक्रबार शुभकामना मन्तव्य जारी गरी मुलुक हरेक लोकतान्त्रिक आन्दोलनमा सम्पूर्ण आदिवासी जनजातीको महत्वपूर्ण योगदान रहँदै आएको उल्ल्ेख गर्दै कांग्रेस सदैव आदिवासी जनजातिको पहिचान, प्रतिनिधित्व र अधिकारको सुनिश्चिताका पक्षमा आफ्नो प्रतिबद्धता प्रकट गरेका छन् । उनले विश्व आदिवासी दिवसको सफलताको कामनासमेत गरेका छन् ।


कांग्रेसको शुभकामना !


वहुजातिय, वहुभाषिक, वहुधार्मिक तथा वहुसांस्कृतिक विविधताले भरिएको राष्ट्र नेपाल विश्वमै समाजशास्त्रीय अध्ययनको उर्वरभूमि मानिन्छ । नेपालमा वसोवास गर्ने अन्य जातजातीहरु सरह सवै आदिवासी जनजातीहरुका पनि आ–आफ्नै विशिष्ट पहिचान सहितका संस्कृति, परम्परा र रितीरिवाजहरु रहेका छन ।

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सम्पूर्ण आदिवासी जनजाती दिदीवहिनी तथा दाजुभाईहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । नेपाली कांग्रेस सदैव आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र अधिकारहरुको सुनिश्चिताका पक्षमा आफ्नो प्रतिवद्धता जनाउन चाहन्छ ।

मुलुक अहिले इतिहासकै अत्यन्त कठिन संक्रमणकालवाट गुज्रिरहेको छ । जननिर्वाचित व्यवस्थापिकाको अभावमा मुलुकमा अनेकन संवैधानिक र कानूनी जटिलताहरु उत्पन्न भएका छन । गणतन्त्र स्थापनाको छैठौं वर्ष प्रवेश भईसक्दा समेत संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भहरु अद्यावधि मजवुत वन्न सकिरहेका छैनन । जनतावाट निर्वाचित प्रतिनिधिहरुको सभा (संविधान सभा) वाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण गर्ने उद्देश्यका साथ मुलुक पुनः दोस्रो पटक संविधानसभाको निर्वाचनको अभियानमा अगाडि वढिरहेको छ । मुलुकका सवै जात, जाती धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय तथा विचारधारा मान्ने नेपाली जनताको व्यापक र सक्रिय सहभागितामा नै आसन्न संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सक्दछ । स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारीका साथ स्थापित गरिएको वर्तमान सरकारले तोकिएको समयमै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नेछ र मुलुकलाई संक्रमणकालवाट छिट्टै मुक्त गराउनमा सफल हुनेछ भन्ने विश्वास सम्पूर्ण मुलुकवासीले गरेका छन । यसर्थ, कैंयन शहिदहरुको वलिदान र त्याग तथा नेपाली जनताको व्यापक सहभागिताका कारण मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत वनाउनका लागि जिम्मेवार सम्पूर्ण पक्षहरु आ–आफ्नो स्थानमा इमान्दार र सक्रिय रहनु आजको राष्ट्रिय जिम्मेवारी र कर्तव्य हो ।

१९ आँै विश्व आदिवासी दिवस (९ अगष्ट) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आदिवासी समुदायका दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

जय नेपाल !

सुशील कोइराला
सभापति
श्रावण २४, २०७०

No comments:

Post a Comment