Tuesday, September 11, 2018

मिश्र प्रधानन्यायाधीश नियुक्त

  • प्रधानन्यायाधीशमा अस्वीकृत जोशीद्वारा मिश्रलाई माला लगाई सर्वोच्चमा स्वास्गत
  • न्यायालयमा भ्रष्टाचार नियन्त्रण मेरो पहिलो काम : मिश्र 
  • वरिष्ठतम न्यायाधीश जोशीले आजदेखि कामकाज थाल्ने

काठमाडौं, २५ भदौ– राष्ट्रपति विद्या भण्डारीले कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सोमबार सा“झ प्रधानन्यायाधीश नियुक्त गरेकी छन् । संघीय संसदको सुनुवाइ समितिले सोमबार प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिले सा“झमा उनलाई नियुक्त गरी पद तथा गोपनीयताको सपथग्रहण गराएकी हुन् । मिश्रले सोमबार सा“झ नै सर्वोच्चमा पुगेर पदबहाली गरे । 
मिश्र सर्वोच्चको २८ औं प्रधानन्यायाधीश भएका छन् । न्यायालयले ६ महिनापछि नेतृत्व पाएको हो । जन्ममिति विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गत चैत १ मा ६५ वर्ष पूरा भई अनिवार्य अवकास पाएपछि सर्वाेच्च कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । संवैधानिक परिषदले भदौ ७ मा मिश्रलाई प्रधानन्याधीशमा सिफारिस गरेको थियो । मिश्र सर्वोच्चको वरिष्ठतम न्यायाधीश नभए पनि प्रधानन्यायाधीश हुन पाउने पहिलो भाग्यमानी व्यक्ति हुन् ।

समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस मिश्रलाई सर्वसम्मतिले सिफासि गरेको हो । समितिको सोमबार बिहान बसेको बैठकले मिश्रका भावी कार्ययोजना र उनीमाथि परेका उजुरीमाथि सुनुवाइ गरेको थियो । समितिको सोमबार नै दोस्रोपटक बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । 
सर्वोच्चमा वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीश हुने परम्परा रह“दै आएको थियो । संवैधानिक परिषदले यसअघि सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । शैक्षिक प्रमाणपत्र, विवादास्पद फैसलालगायतका विवाद परेका र प्रधानन्यायाधीश भएपछिको भावी कार्ययोजनासमेत राम्रोस“ग प्रस्तुत नगरेको भन्दै सुनुवाइ समितिको दुई तिहाइ बहुमतले जोशीको नाम अस्वीकृत गरेको थियो । त्यसपछि परिषदले सर्वोच्चका दोस्रो वरिष्ठताक्रमका न्यायाधीश मिश्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
जोशी प्रधानन्यायाधीश भएको भए मिश्र प्रधानन्यायाधीश हुन पाउने थिएनन् । जोशी २०७६ असोज १४ सम्म प्रधानन्यायाधीश हुने थिए । त्यसअघि नै आगामी पुस १७ मा नै मिश्र ६५ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाउने थिए । जोशी अस्वीकृत भएका कारण रोलक्रममा नै नरहेका मिश्रलाई अप्रत्याशित रूपमा प्रधानन्यायाधीश हुने अवसर मिलेको हो । मिश्र विशेष अदालतको मुख्य न्यायाधीशबाट बढुवा भई २०७१ जेठ १३ मा सर्वोच्चका न्यायाधीश भएका थिए । मिश्रले पुस १७ मा अनिवार्य अवकास पाएपछि उनीपछिका वरिष्ठतम न्यायाधीश चोलेन्द्रसमसेर राणा प्रधानन्यायाधीश हुनेछन् ।
सुनुवाइका क्रममा मिश्रविरुद्ध परेका उजुरीमाथि सांसदहरूले जिज्ञासा राखेका थिए । उजुरीमाथिको छलफलका क्रममा उनले आफूले संविधान र कानुनसम्मत फैसला गरेको प्रस्टीकरण दिएका थिए । सुनुवाइका क्रममा मिश्रले समितिसमक्ष न्यायालयलाई प्रभावकारी, न्यायप्रणाली छिटोछरितो, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन २५ बु“दे भावी कार्यदिशा प्रस्तुत गरेका थिए । न्यायिक कामकारबाहीको क्रममा हुने अनियमितता रोक्ने आफ्नो कार्यकालको प्रमुख लक्ष्य हुने बताए । ‘प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने मेरो पहिलो काम हुनेछ,’ उनले समितिमा भने, ‘म लामो समय अदालतमा त बस्दिन, तर जति बस्छु न्यायालयको साख सुधार्ने कार्य गर्नेछु ।’     
मिश्रले आफ्नो छोटो कार्यकालय भए पनि न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘अदालतको भ्रष्टाचार रोक्ने मेरो पहिलो काम हुनेछ’ उनको भनाइ थियो । उनले आफ्नो करिअरमा १७ हजार मुद्दाको फैसला गरेको समितिलाई जानकारी दिंदै आमाको नामबाट छोराछोरीलाई नागरिकता दिलाउने, सहरको फोहोरमैला नियन्त्रणका लागि होर्डिङ बोर्ड हटाउन गरेको आदेशलगायतका महत्वपूर्ण फैसला गरेको फेहरिस्त राखेका थिए । उनले आफूले विशेष अदालतमा रह“दादेखि नै भ्रष्टाचारको मुद्दामा कडा रूपमा प्रस्तुत हुने गरेको जिकिर गरेका थिए । ‘मिश्रको योग्यता, क्षमता, अनुभव र भावी कार्यदिशा सम्पूर्णलाई हेरेर समितिको बैठकले संवैधानिक परिषदबाट आएको उहा“को सिफारिसलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ’ बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य कर्णले भने ।
यसैबीच वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले मिश्र प्रधानन्यायाधीश भएपछि आफू मंगलबार नै अदालतमा हाजिर भएर दैनिक कामकारबाही गर्न थाल्ने बताएका छन् । उनले मिश्र आफ्नो समकक्षी भएकाले सिनियर र जुनियरको कुरै नउठने उल्लेख गर्दै उनको नेतृत्व स्वीकार गरी काम गर्ने बताए । ‘मिश्र मेरो साथी र सहकर्मी हुन्, न्यायालयमा कोही जुनियर र सिनियर हुन्न । अब म मंगलबार नै अदालतमा गएर दैनिक कामकाज गर्न थाल्छु’ उनले अदालतका सहकर्मीलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले भने । स्रोतका अनुसार उनले आफ्नो नाम स्वीकृत भएपछि अदालतको काममा को कामु प्रधानन्यायाधीश भनेर अन्यौल नहोस् भनी आफू बिदामा बसेको र नया“ नेतृत्व आएपछि आफूले काम सुरु गर्ने बताएका छन् । उनी सर्वोच्चमा उपस्थित भई वरिष्ठतम न्यायाधीशका नाताले अग्रपंक्तिमा बसेर मिश्रलाई माला लगाई स्वागत गरेका थिए । उनले नै मिश्रलाई प्रधानन्यायाधीशको कार्यकक्षमा लगी पदबहाली गराएका थिए । उनले मिश्रलाई अंकमालसमेत गरेका थिए ।

No comments:

Post a Comment