Friday, September 14, 2018

उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषद भवनमा

काठमाडौं, २९ भदौ– सरकारले उपराष्ट्रपतिको कार्यालय र निवास लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित कार्यदलले गरेको अध्ययन प्रतिवेदनका आधारमा कान्तिपथस्थित बहादुर भवनबाट उपराष्ट्रपति कार्यालय परिषदको भवनमा सार्ने निर्णय गरेको हो ।
हजारौं चन्दादाता र सरकारी रकमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता, समन्वय र अनुगमन गर्ने समाज कल्याण परिषदका लागि निर्मित भवनमा उपराष्ट्रपति कार्यालय सार्ने निर्णय हुनु आपत्तिजनक भएको टिप्पणी सरोकारवालाहरूले गरेका छन् । ‘हजारौंहजार समाजसेवीको चन्दाबाट बनेको भवनमा उपराष्ट्रपति कार्यालय र आवास राखिनुहुन्न’ परिषदका पूर्व सदस्यसचिव शरद शर्माले कान्तिपुरसित भने– ‘उपराष्ट्रपति कार्यालय सार्नै पर्ने भए सरकारले अरू विकल्प खोज्नु राम्रो हुन्छ । समाज कल्याण परिषदको भवन हडप्नु हुन्न ।’ 
२०४२ मा निर्माण सुरु भई २०४६ मा उदघाटन गरिएको समाज कल्याण परिषद भवनमा करिब ३० रोपनीको कम्पाउन्ड छ । परिसरमा तत्कालीन महारानी ऐश्वर्यको शालिकका अतिरिक्त भवन निर्माण गर्न सहयोग पु¥याएका चन्दादाताहरूको नाम उल्लिखित शिलालेखसमेत छ । पञ्चायतकालमा तत्कालीन महारानी ऐश्वर्य समाज कल्याण परिषदको संरक्षक थिइन् ।

सरकारले उपराष्ट्रपति नन्दकिशोर पुनलाई लैनचौरस्थित महानगर प्रमुखको निवास भवनलाई आवास उपलब्ध गराएको छ । उपराष्ट्रपति पुनले आवास सा“घुरो भएको र कार्यालय भवन भूकम्पले चर्केको भन्दै आफ्ना लागि उपयुक्त ठाउ“मा कार्यालय र आवास व्यवस्थित गरिदिन सरकारलाई दबाब दिंदै आएका थिए ।
पुनको दबाबपछि सरकारले उपराष्ट्रपति कार्यालय र आवासका लागि उपयुक्त भवन खोज्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सचिव अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले विभिन्न विकल्पको अध्ययनपछि उपराष्ट्रपति कार्यालय र आवासका लागि समाज कल्याण परिषदको भवन उपयुक्त हुने सुझाव दिएको हो ।
अधिकारीले उपराष्ट्रपति कार्यालय भवन रेट्रोफिट गर्नुपर्ने भएको र लैनचौरस्थित आवास सा“घुरो भएकाले आफ्नो कार्यदलले समाज कल्याण परिषद भवनमा सार्न सुझाव दिएको र त्यहीअनुसार मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिए । ‘अब त्यही भवन स्थायी रूपमा उपराष्ट्रपति कार्यालय र आवास हुनेछ’ अधिकारीले कान्तिपुरसित भने ।
उपराष्ट्रपति पुनले बिहीबार परिवारसहित समाज कल्याण परिषदको भवन अवलोकन गरेका थिए । उनले आफ्ना कार्यालय कुन कुन ठाउ“मा, आवास कुन तलालाई बनाउन उपयुक्त होला भनेर समाज कल्याण परिषदका कर्मचारीसित सुझावसमेत लिएका थिए । भवनको छतमा समेत उक्लेर वरिपरिको दृश्यपानसमेत गरेका थिए । उनले परिषदका कर्मचारीहरूलाई आफू छिट्टै भवनमा सर्न लागेका जानकारीसमेत गराएका थिए । सरकारले परिषदको कार्यालय भृकुटीमण्डपमा सार्ने निर्णयसमेत गरिसकेको छ ।




No comments:

Post a Comment