Friday, September 14, 2018

नागढुंगा–धुलिखेल मेट्रो रेल अध्ययन गर्न छ कम्पनी

प्राविधिक प्रस्तावका आधारमा एक महिनामा एउटा कम्पनी छनौट गरिने
काठमाडौं, २९ भदौ– सरकारले राजधानीको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेलको निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक रूपमा ६ वटा कम्पनी छनोट गरेको छ । लगानी बोर्डले सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेन्डर गरी इच्छुक कम्पनीहरूलाई आशयपत्र भर्न आह्वान गरेको थियो । 
आशयपत्र भरेकामध्ये बोर्डले ती छवटा कम्पनीलाई योग्य छनौट गरेको हो । बोर्डले ती कम्पनीलाई ३० दिनभित्र प्राविधिक प्रस्ताव पेस गर्न आह्वान गरेको छ । बोर्डले प्राविधिक प्रस्तावका आधारमा सम्भाव्यता अध्ययनका लागि छ कम्पनीमध्येबाट उपयुक्त एउटा कम्पनी छनोट गर्नेछ । प्रारम्भिक छनोटमा परेका कम्पनी चीन, भारत, कोरिया, टर्की र जापानका छन् । 

चाइना मेसिनरी इञ्जिनीयरिङ कर्पोरेसन, चाइना रेल्वे सिउवान सर्वे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोई कम्पनी लिमिटेड, जापान, राइट्स इन्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेसन सिउल र युकसेल प्रोजे युसलरासी टर्की योग्य कम्पनीमा छनौट भएको जानकारी लगानी बोर्ड स्रोतले दिएको छ । 
राजधानी उपत्यकामा वर्षेनि बढदो जनसंख्यालाई सहज रूप यातायात सेवा दिन चारपांग्रे गाडीबाट मात्र सम्भव नहुने भएकाले लगानी बोर्डले विकल्पका रूपमा पहिलो चरणमा नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल निर्माण गर्न सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाएको हो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७४ कात्तिक २७ मा बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल निर्माणका लागि इन्जिनियरिङ अध्ययन गराउने निर्णय गरेको थियो । 
नागढुंगा–धुलिखेल मेट्रो रेलको सम्भाव्यता अध्ययनपछि विस्तृत इन्जिनियरिङ प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । डीपीआरबाट आर्थिक र प्राविधिक रूपमा सम्भाव्य देखिएमा ग्लोबल आह्वान गरी कम्पनी छनौट गरेर निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणामा मेट्रो रेल निर्माण गर्न दिने तयारी बोर्डको छ । नागढुंगादेखि धुलिखेलसम्म ४५ किमी लामो मेट्रो रेल निर्माणका लागि करिब सवा ३ खर्ब रुपैया“ लागत लाग्ने प्रारम्भिक अनुमान छ ।

No comments:

Post a Comment