Tuesday, September 18, 2018

प्रधानमन्त्री शनिबार न्युयोर्क जाने

असोज ११ मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने
काठमाडौं, ३ असोज– प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्न शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन् । नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उनको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो । प्रधानमन्त्रीको भ्रमण तालिका भने सरकारले औपचारिक गरिसकेको छैन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा कम्तीमा २० सदस्य रहने छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी गरिरहेको छ। 
स्रोतका अनुसार भ्रमण टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीसहित परराष्ट्र र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू रहनेछन् । नेपाली प्रतिनिधिमण्डलमा न्युयोर्कस्थत नेपाली नियोगका अधिकारीहरुसमेत सहभागी हुनेछन् । न्युयोर्क्स्थित राष्ट्रसंघीय नेपाली नियोगमा स्थायी प्रतिनिधि पद भने रिक्त छ । यसैबीच प्रधानमन्त्री ओलीले महासभाका क्रममा छिमेकी तथा मित्र राष्ट्रका सरकार प्रमुख, विदेशमन्त्रीहरू साइडलाइनमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत बनिरहेको जानकारी परराष्ट्रमन्त्रलाय स्रोतले दिएका छन् ।

‘साइडलाइनमा ओली र र परराष्टमन्त्री ज्ञवालीले भारतीय विदेशमन्त्री सुस्मा स्वराज र चिनिया“ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्ने सम्भावना छ’ परराट्रका अधिकारीले भने । भारत र चीनबाट यसपटक सरकार प्रमुखको सट्टा विदेशमन्त्री स्वराज र चिनिया“ विदेशमन्त्री यीले आफ्नो देशको प्रतिनिधित्व गर्ने भइका छन् ।
प्रधानमन्त्री ओली न्युयोर्कबाटै दक्षिण अमेरिकी राष्ट्र कोस्टारिका जाने सम्भावना छ । कोस्टारिकाका राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई आफ्नो देशको भ्रमण गर्न निम्ता दिइसकेको जानकारी परराष्ट्र स्रोतले दिएको छ ।

No comments:

Post a Comment