Thursday, September 20, 2018

राष्ट्रपतिबाट मौलिक हक कार्यान्वयन गर्ने १६ विधेयक प्रमाणीकरण

काठमाडौं, ३ असोज– राष्ट्रपति विद्या भण्डारीले संविधानले प्रत्याभूत गरेका सबै मौलिक हक कार्यान्वयन गर्ने १६ विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदका दुवै सदनबाट पारित ती विधेयक भण्डारीले मंगलबार राति प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्ति जारी गरी जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम भण्डारीले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । संविधानसभाबाट संविधान जारी भएको तीन वर्ष अर्थात असोज ३ (बुधबार) अघि नै मौलिक हकसम्बन्धी ती विधेयक कार्यान्वयनमा आइसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले संघीय संसदको बैठकले नियमावली निलम्बन गरी छोटो प्रक्रियाबाट पारित गरेको हो ।
प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक, जनस्वास्थ्य सेवा विधेयक, आवासको अधिकारसम्बन्धी विधेयक, खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक छन् ।

त्यसैगरी रोजगारीको हकसम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, सामाजिक सुरक्षा विधेयक, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, अपराध पीडित संरक्षण विधेयक र बालबालिकासम्बन्धी विधेयक प्रमाणीकरण भएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । 

No comments:

Post a Comment