Sunday, August 11, 2019

मेजरमाथि सैनिक ऐनअनुसार मेजरमाथि कारबाही हुन्छ : सैनिक प्रवक्ता

काठमाडौं, २५ साउन– नेपाली सेनाका एक जना मेजर शनिबार लागू औषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भई नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी–२ बाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरिक्षक समिरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम लागू औषध ब्राउन सुगर बरामद भएको जानकारी दिए ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागू औषधसहित पक्राउ परेका सैन्य अधिकारीलाई सैनिक ऐनअनुसार अपराधको प्रकृति हेरी पद घटुवादेखि जागिरबाट अवकास पाउनेसम्मको कारबाही हुने जानकारी दिए ।
पाण्डेका अनुसार पक्राउ परेका मेजर सिंहलाई ब्यारेकमा थुनामा राखी पृतनाले सैनिक ऐनअनुसार उनीमाथि अनुसन्धान (कोर्ट अफ इन्क्वायरी) गर्छ । कोर्ट अफ इन्क्वायरीबाट उनी लागू औषध मुद्दामा दोषी देखिएमा पृतनाले नेपाली सेनाको कानुन विभागलाई कारबाहीका लागि सिफारिस गर्छ ।
विभागले कोर्ट अफ इन्क्वायरीको प्रतिवेदन अध्ययन गरी कारबाही गर्नु पर्ने देखिएमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई जाहेर गर्ने कानुनी व्यवस्था ।
त्यसपछि प्रधानसेनापतिले लागू औषधमा संलग्न सैनिक अधिकारीमाथि छानबिन गरी सजाय तोक्न समरी सैनिक अदालत गठन गर्नेछन् । समरी सैनिक अदालतले लागू औषधमा मेजर सिंहको  संलग्नताको समग्र पक्षमाथि अध्ययन गरी पक्ष÷विपक्षको राय सुनेर दोषी देखिएमा सजाय तोक्ने छ । समरी सैनिक अदालतले लागू औषध मुद्दामा दोषी ठहरिएमा केसको प्रकृति र गम्भीरता हेरी संलग्न सैनिक अधिकारीलाई एक तह घटुवा, पदोन्नति रोक्कादेखि जागिरबाट अवकाससम्मको सजाय गर्ने गरेको छ । यसअघि एक जना मेजरलाई लागू औषध मुद्दामा समरी सैनिक अदालतले बर्खास्त गरेकोसमेत उदाहरण छ ।
समरी सैनिक अदालतले सुनाएको सजायमाथि चित्त नबुझे सम्बन्धित सैनिक अधिकारीले फैसला भएको ३० दिनभित्र पुनरावेदनका लागि सैनिक विशेष अदालतमा जान पाउने कानुनी व्यवस्था छ । उच्च अदालतका मुख्य न्यायाधीशको अध्यक्षतामा सैनिक विशेष अदालत गठन हुने कानुनी व्यवस्था छ ।
सैनिक विशेष अदालतसमेत दोषी ठहरेको निर्णयमा चित्त नबुझे त्यसविरुद्ध सम्बन्धित सैनिक अधिकारी सिभिल कोर्ट (सर्वोच्च अदालत) मा जान पाउनेसमेत सैनिक ऐनमा व्यवस्था छ ।

No comments:

Post a Comment