Thursday, August 22, 2019

१५ सचिवको सरुवा, दुई वरिष्ठ सहसचिवलाई कामु सचिवमा बढुवा

कामु सचिव रायलाई ३ नं. र ज्ञवालीलाई ५ नं. प्रदेशको प्रमुख सचिवको जिम्मेवारी
काठमाडौं, ३ भदौ– सरकारले विभिन्न मन्त्रालय र निकायका १५ सचिवलाई सरुवा गरेको छ भने दुई जना वरिष्ठ सहसचिवलाई कायममुकायम सचिवमा बढुवा गरी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ठूलो संख्यामा सचिवको हेरफेर गर्नुका साथै सामान्य प्रशासन समूहका दुई वरिष्ठ सहसचिवलाई कायममुकायम सचिवमा बढुवा गरेको हो ।
सचिवहरू शिक्षाका खगराज बराललाई स्वास्थ्यमा, संस्कृति, पर्यटन तथा नागरिक उडडयनका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रकमा, सतर्कता केन्द्रका माधव बेलवासेलाई खानेपानीमा, राष्ट्रपति कार्यालयका विनोद केसीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका बेगेन्द्र शर्मा पौडयाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
यसैगरी वाणिज्य तथा आपूर्तिका केदारबहादुर अधिकारीलाई पर्यटनमा, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा, सिंचाइका सञ्जय शर्मालाई विज्ञान तथा प्रविधिमा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्तिमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका हरि पौडेललाई राष्ट्रपति कार्यालय, स्वास्थ्यका रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा र लोकसेवा आयोगका महेन्द्र गुरागाईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको छ ।
प्रदेशका प्रमुख सचिवद्वय क्रमशः ३ नं.का आनन्द ढकाललाई लोकसेवा आयोगमा र ५ नं. प्रदेशका तीर्थ ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । निजामती प्रशासन सेवाभित्रको सामान्य प्रशासन समूहका वरिष्ठ सहसचिवद्वय तोयम राय र तोयनारायण ज्ञवालीलाई कामु सचिवमा बढुवा गरिएको छ । रायलाई ३ नं. र ज्ञवालीलाई ५ नं. प्रदेशको कामु प्रमुखसचिवमा पदस्थापन गरिएको छ ।
इन्जिनियरिङ क्लस्टर (समूह) का सचिव रहने सिंचाइ, सतर्कता केन्द्र र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । तीनवटामै वरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्ने छन् । निमित्तलाई दैनिक प्रशासन चलाउनेबाहेक नयाँ निर्णय गर्ने अख्तियारी हुन्न । सचिवत्रय अर्जुनकुमार कार्की र दिपेन्द्रनाथ शर्मा पदावधिले तथा कृष्णराज बीसी ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाएपछि इन्जिनियरिङ क्लस्टरमा तीन सचिव पद रिक्त छ । सामान्य प्रशासन क्लस्टरका दुई सचिवमध्ये विष्णु लम्साल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अध्ययन निर्देशकमा नियुक्त भएको र कृष्ण देवकोटा अनिवार्य अवकास भएपछि रिक्त पदमा राय र ज्ञवालीलाई कामु दिइएको हो ।

No comments:

Post a Comment