Wednesday, August 14, 2019

लामो दुरीका गाडीमा २ चालक नराखे कारवाही : विभाग

काठमाडौं, २८ साउन– यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातका गाडीहरूमा अनिवार्य २ जना ड्राइभर (चालक) राखेर नलचाए व्यवसायी (गाडी मालिक या कम्पनी) लाई कारबाही गर्ने चेतावनी दिएको छ ।
लामो दुरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसी दुर्घटनामा परेको साता पनि नपुग्दै विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ । लामो दुरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको मुलुकभर अनुगमन गरिनेसमेत विभागले जनाएको छ ।
विभागले सूचनामा प्रस्थानविन्दुबाट २ सय ५० किमी वा त्योभन्दा बढी दूरीमा चल्ने गाडीले अनिवार्य रूपमा २ चालक नराखेको पाइए सवारी धनी या कम्पनीलाई नै नियन्त्रणमा लिई कारवाही गर्ने चेतावनी दिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा २ चालक अनिवार्य राखी प्रत्येक ६÷६ घन्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ । एउटै चालकले लामो दूरीमा गाडी चलाउ“दा थकानका कारण दुर्घटना बढेको निष्कर्ष विभागको छ ।
विभागले मध्यम दूरीमा चल्ने गाडीका व्यवसायीलाई समेत चालकलाई प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम दिने व्यवस्थालाई समेत कडाइका साथ पालना गर्न आग्रह गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा ४ घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक गाडीका चालकले प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था छ ।
लामो दूरी तथा रात्रि सेवाका गाडीका चालक यात्राकै क्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक दबाबका कारण दुर्घटना हुने गरेको निष्कर्ष ट्राफिक प्रहरीको छ । विभागले सूचनामा सार्वजनिक यातायातका गाडीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात व्यवसायीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

No comments:

Post a Comment