Saturday, August 10, 2019

२ उपसचिव १८ जनाविरुद्ध मुद्दा

काठमाडौं, २३ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय भवन निर्माणका क्रममा ८ लाख ४७ हजार रुपैया भ्रष्टाचार गरेकामा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा पोखरेलका अतिरिक्त साबिक जिविसका लेखा अधिकृत रामकुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सबइन्जिनियर दोर्णप्रसाद रजौरे, असिस्टेन्ट ओभरसियर फलेन्द्र डीसी., तत्कालीन गाविस सचिव टेकबहादुर डा“गी, नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक कृष्णबहादुर घर्ती, निमित्त प्रधानाध्यापक खलबहादुर चलाउने क्षत्री, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमशः कर्णबहादुर रावत, डम्मरबहादुर पुन र निमाकुमारी विक छन् । अभियोगपत्रमा उनीहरूले मिलेमतोमा नेपाल राष्ट्रिय माविको भवन निर्माणका क्रममा झूटो बिलभर्पाइ र कागजात पेस गरेको उल्लेख छ ।
अख्तियारले डिभिजन वन कार्यालय, सुर्खेतका कार्यालय प्रमुख (उपसचिव प्राविधिक) भक्तबहादुर लामाविरुद्ध मुद्दा दायर गरेको छ । लामाले काठदाउराको छुट पुर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग ४ लाख रुपैयाँ घूस लिएको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले लामाको निवासबाट बरामद अतिरिक्त ५ लाख ५० हजार रुपैयाका सम्बन्धमा सम्पत्तिसम्बन्धी छुट्टै अनुसन्धान गर्ने निर्णयसमेत गरेको छ ।
अख्तियारले सल्यानको साबिक काप्रेचौर गाविसका तत्कालीन गाविस सचिव टेकबहादुर डाँगी र बाल संरक्षण तथा संवद्र्धन उपसमितिका संयोजक खगेन्द्र बस्याल सार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरूले लक्षित वर्गका बालबालिकाको कार्यक्रमका लागि छुट्याइएको रकमबाट ३३ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।
 अस्थायी ट्राफिक प्रहरी पोस्ट कोसी कटान, सुनसरीका प्रहरी नायब निरीक्षक (सई) भीमबहादुर कटुवाल र जवान भरत कटुवालविरुद्ध पनि मुद्दा दायर भएको छ । कटुवालद्वयले काँकडभिट्टा–काठमाडौं चल्ने गाडी सञ्चालकसित ५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्यविरुद्ध जग्गाको कित्ताकाटबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
यसैगरी अख्तियारले कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाको श्री माध्यमिक विद्यालयका प्रावि शिक्षक सुशीलादेवी गौतमविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतमले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको अभियोगपत्रमा दाबी गरिएको छ । मुद्दा दायर भएसँगै उपभोक्ता समितिका चारबाहेक १४ जना सरकारी सेवाबाट निलम्बन भएका छन् ।



No comments:

Post a Comment