Thursday, August 22, 2019

अब फिल्म हलमा राष्ट्रिय गान अनिवार्य

  • हलमा राष्ट्रिय गानको अवधिभर दर्शक उभिनै पर्ने
  • सम्पूर्ण राष्ट्रसेवकलाई झन्डासहित संविधान दिवसको ¥यालीमा सहभागी हुन ‘उर्दी’
  • झन्डालाई मुटुको अगाडि र पछाडि पर्ने गरी पोशाक बनाएर लगाउन पाइने
  • व्यक्ति र संघसंस्थाले घर र कार्यालयमा सम्मानपूर्वक झन्डा राख्न पाउने
  • यसपटकको संविधान दिवसलाई झन्डामय बनाइने
काठमाडौं, ४ भदौ– सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलहरूलाई चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ । असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सम्पूर्ण फिल्म हललाई त्यस्तो निर्देशन दिएको हो ।
फिल्म हलमा राष्ट्रिय गान बज्दा सम्पूर्ण दर्शकहरूले अनिवार्य रूपमा उभिएर राष्ट्रिय गानको सम्मानमा उभिनुपर्ने जानकारीसमेत गृह मन्त्रालयले दिएको छ । ‘बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा फिल्म हलहरूलाई संविधान दिवसको दिनदेखि अनिवार्य रूपमा सधैंलाई राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कान्तिपुरसित भने– ‘राष्ट्रिय गानको मर्यादा राख्न सबै उभिनै पर्छ । त्यो कुरा भनिरहनै पर्दैन ।’
राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार सञ्चार मन्त्रालयको प्रस्तावमा सरकारले फिल्म हलहरूमा चलचित्र सुरु हुनुअघि राष्ट्रिय गान बजाउन अनिवार्य गरेको हो । ‘कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य  सम्मान,  खेलकुद  समारोह  र  विद्यालय  प्रार्थनामा  राष्ट्रिय  गान  गाउनु  पर्नेछ  ।  रेडियो  र टेलिभिजनमा  सम्पूर्ण  कार्यक्रमको  सुरुमा  र  अन्त्यमा  राष्ट्रिय  गान बजाउनु  पर्नेेछ ।  राष्ट्रिय  गान अवधिभर  सबैलाई  उभिन  अनिवार्य  रूपले  अनुरोध  गर्नु  पर्नेछ । सांस्कृतिक  तथा  मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनका क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनका समयमा राष्ट्रिय गान तथा धुन बजाए वा गाएमा उपदफा (१) बमोजिम  सम्मान गर्नु पर्नेछ’ राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ मा उल्लेख छ ।
कार्यविधिको उपदफा (१) मा ‘राष्ट्रिय गान या धुन बज्दा सबैले सतर्क अवस्थामा उभिएर शिर  ठाडो  गरी  उच्च  र  उल्लासपूर्ण  आवाजमा  राष्ट्रिय  गान  गाउनु पर्ने’ उल्लेख छ । पञ्चायतकालमा फिल्म हलहरूमा राष्ट्रिय गान बज्दा दर्शकहरू अनिवार्य रूपमा उठनु पर्ने र कानुनी व्यवस्था थियो । उठन नमानेमा प्रहरी या फिल्म हलका कर्मचारीले दर्शकलाई उभिन बाध्य पार्थे । सरकारले कार्यविधिलाई संविधान दिवसको दिन असोज ३ देखि कार्यान्वयनमा ल्याएर फिल्म हलमा चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनु पर्ने र दर्शक उठनु पर्ने पञ्चायतकालीन प्रचलनलाई पुनरावृत्ति दिन लागेको हो ।
सरकारले संघीय संसदमा पेस गर्न तयार गरेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा समेत सबै फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनु पर्ने व्यवस्था गरेको छ । विधेयक पारित नहु“दै सरकारले कार्यविधिका आधारमा फिल्म हलमा राष्ट्रिय गान अनिवार्य गरेको हो ।
बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरेको छ । समितिको मातहतमा विभिन्न उपसमिति गठन गरिएको छ । समितिले संविधान दिवसका दिनमा टीभी र रेडियोमा कार्यक्रम÷समाचार सुरु गर्दा अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनसमेत निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार समितिले यस वर्ष राष्ट्रिय झन्डालाई उच्च प्राथमिकता दिएर संविधान दिवस मनाउने निर्णय गरेको छ ।
उनका अनुसार विश्वमा आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ । बैठकमा गृह सचिव प्रेमकुमार राईले विगतभन्दा फरकरूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झण्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको जानकारी गराएका थिए ।
सरकारले उपत्यकामा रहेका सम्पूर्ण राष्ट्रसेवकहरूलाई राष्ट्रिय झन्डा बोकेर संविधान दिवसका दिन टु“डिखेलको सैनिक मञ्चमा राष्ट्रपतिको समुपस्थितिमा हुने विशेष कार्यक्रममा सहभागी हुन उर्दी जारी गरेको छ । ‘काठमाडौं उपत्यकामा रहेका सबै निजामती कर्मचारीहरूलाई संविधान दिवस मनाउन सिंहदरबारमा भेला भई राष्ट्रिय झन्डा बोकेर मार्चपास गरी सैनिक मञ्चमा हुने विशेष कार्यक्रममा सरिक हुन निर्देशन दिइएको छ’ सुवेदीले भने । हेलिकप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रमसमेत राखिएको छ । सुवेदीका अनुसार काठमाडौं उपत्यका बाहिरका राष्ट्रसेवकहरूका हकमा प्रदेश सरकार, जिल्ला सदरमुकाम र स्थानीय सरकारले मनाउने संविधान दिवस कार्यक्रममा सरिक हुन निर्देशन दिइएको छ ।
मूल समारोह समितिले ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने नारा तय गरेको छ । ‘उक्त नारा मोबाइल सन्देशमार्फत हरेकलाई पठाइन्छ, झण्डाको रङका पोशाक, चंगा आदि निर्माण गर्ने र घरघरमा झण्डा राख्न आह्वान गर्ने तथा हरेक कार्यक्रममा झण्डा फहराइनेछ, कार्यक्रम झण्डामय हुन्छ’ गृहसचिव राईले बैठकमा भनेका थिए । संविधान दिवसमा आयोजना हुने ¥यालीलाई समेत झण्डामय बनाइनेछ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले संविधान दिवसलाई झण्डामय बनाउन लागिएकामा खुशी प्रकट गर्दै झण्डाले राष्ट्रिय एकता र उपलब्धिलाई मौन ढंगले दृढतापूर्वक अभिव्यक्त गर्ने बताए । उनले मुटुको अगाडि र पछाडि पर्ने गरी पोशाक बनाएरसमेत लगाउन सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले झण्डालाई घरमा, हातमा या शिरमा राखेर सम्मानपूर्वक प्रयोग गरी राष्ट्रिय उत्सव मनाउनसमेत आह्वान गरे ।
समितिले संविधान दिवसलाई झन्डामय बनाउनका लागि आवश्यक सहयोग गर्न निजी क्षेत्र र सम्पूर्ण सामाजिक संघसंस्थालाई समेत आह्वान गरेको छ । समितिले झण्डा कागज वा कपडाको मात्र प्रयोग गर्न आह्वान गर्दै प्लास्टिकको झण्डा बनाउन भने निषेध गरेको छ ।
कार्यविधिअनुसार समितिले राष्ट्रिय झण्डालाई बढी महत्व दिई संविधान दिवसका दिन घरघरमा समेत फहराउन आह्वान गरेको छ । कार्यविधिले हरेक व्यक्ति र संघसंस्थाले समेत कार्यविधिअनुसार घरघर, कार्यालयमा सम्मानका साथ झन्डा सधैंका लागि सरकारी निकायमा जस्तै फहराउन सकिने निर्णय गरेको जानकारीसमेत सुवेदीले दिए ।
समितिले संविधान दिवसको शुभकामना, एसएमएसका साथै डिस्प्ले बोर्डमा समेत झण्डा फहराउन र राष्ट्रिय गान बजाउन लगाउने तथा उपत्यकाभित्र सरकारी कार्यालय तथा महानगर नगरपालिकाले राष्ट्रिय झण्डा सजाएर नगरको श्रृगार तथा सजावट गर्न तथा राष्ट्रिय झण्डा रिले दौड र क्रिकेट प्रतियोगिता गर्नसमेत आह्वान गरेको छ । विभिन्न मठमन्दिर, बौद्ध विहार, चर्च, मस्जिद र गुरुद्वारामा राष्ट्र, राष्ट्रियता र संविधानका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको आत्मशान्तिका लागि पूजापाठ र प्रार्थना गर्नसमेत समितिले आह्वान गरेको छ ।
सुवेदीका अनुसार समितिले स्कुल तथा कलेजमा राष्ट्रिय झण्डा तथा राष्ट्रभक्तिको विषयमा कविता, वक्तृत्वकला हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्न, सार्वजनिक चोकमा राष्ट्रिय गान तथा  राष्ट्रभक्तिका गीत, कन्सर्ट आयोजना गरी महोत्सव गर्ने व्यवस्था मिलाउन आह्वानसमेत गरेको छ ।



No comments:

Post a Comment