Monday, August 5, 2019

प्रधानमन्त्रीले आफ्नो खर्च आफैं बेहोर्ने

काठमाडौं, १९ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो स्वास्थ्योपचारलगायतको सम्पूर्ण खर्च आफैं बेहोर्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइतबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले प्रधानमन्त्री ओलीको आउजाउ गर्ने हवाई भाडामात्र बेहोरेको जानकारी दिए ।
मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको टोलीमा सामेल सरकारी कर्मचारीको भने हवाई भाडा, दैनिक भत्ता र होटल खर्च सरकारले बेहोर्ने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो टोलीमा संलग्न सरकारी कर्मचारीबाहेकका सदस्यको होटल खर्चसमेत आफैंले बेहोर्ने छन् । ‘प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैंं व्यवस्थापन गर्नुभएको छ, यसमा कुनै अलमल र भ्रम छैन ।’
ओली सरकारले राज्यको ढुकुटीबाट कुनै पनि व्यक्तिको विदेशमा गरेको उपचार खर्च नबेहोर्ने निर्णय गरेको छ । त्यही निर्णयको कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीले आफ्नो उपचार खर्च राज्यकोषबाट नलिने निर्णय गरेका हुन् ।
ओलीको साथमा पत्नी राधिका शाक्य, निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत नौ जना सिंगापुर गएका छन् । ओलीको आइतबार नै सिगांपुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परिक्षण सुरु भएको छ । उनी आगामी साउन २४ मा स्वदेश फर्कने कार्यक्रम छ ।



No comments:

Post a Comment