Tuesday, August 20, 2019

विवादास्पद न्यायाधीश अधिकारीद्वारा राजिनामा

काठमाडौं, २ भदौ– गोर्खा ब्रुअरीको कर छली प्रकरणमा क्षेत्राधिकार बाहिर गएर विवादास्पद आदेश दिएका कारण छानबिनका लागि तानिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन् ।
न्यायपरिषदमार्फत प्रधानन्यायाधीश चोलेन्द्रसमसेर राणासमक्ष अधिकारीले दिएको राजीनामा सोमबार स्वीकृत भएको जानकारी सर्वोच्च अदालत स्रोतले दिएको छ । अधिकारीले राजीनामापत्रमा घरायसी समस्या भएका कारण पद त्याग गर्न चाहेको उल्लेख गरेका थिए ।
प्रधानन्यायाधीश राणाको इजलाशले गोर्खा ब्रुअरीको मुद्दामा क्षेत्राधिकार मिचेर फैसला गरेकामा अधिकारीसहित उच्च अदालत पोखराका तीन न्यायाधीशलाई कारवाही गर्ने आदेश गरेको थियो । न्याय परिषद्ले विवादास्पद आदेश दिने तीन न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा  समिति गठन गरी छानविन चलिरहेको छ ।
कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई दुई वर्षको जर्तीबापतको कर ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैया“ निर्धारण गरी तिर्न पत्राचार गरेको थियो । त्यसविरुद्ध गोर्खा ब्रुअरी क्षेत्राधिकार बाहिरको उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । उच्च अदालत पोखराका न्यायाधीशत्रय जीवनहरि अधिकारी, नरबहादुर शाही र  रामचन्द्र यादवको सयुक्त इजलाशले गत असार ११ मा क्षेत्राधिकारबाहिर कर कार्यालयका नाममा गोर्खा ब्रुअरीको कर निर्धारण नगर्न विवादास्पद अन्तरिम आदेश जारी गरेको थियो । चितवनमा कार्यालयको गोर्खा ब्रुअरी उच्च अदालत पोखराको क्षेत्राधिकार पर्दैन । विवादास्पद आदेश दिने अधिकारीबाहेकका न्यायाधीशद्वय शाही र यादवले भने राजिनामा नदिएको र उनीहरूमाथि छानबिन भइरहेको जानकारी स्रोतले दिएको छ ।

No comments:

Post a Comment