Thursday, August 22, 2019

दुई इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं, ४ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मंगलबार दुई इन्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सडक निर्माणमा ४ लाख ५६ हजार रुपैयाँ अनियमितता गरेकामा सुर्खेतको सिम्ता गाउ“पालिकाका इन्जिनियर नवीन शर्मा, सब–इन्जिनियर शंकर पोखरेलसहित ५ जनालाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा दुई इन्जिनियरसँगै सडक उपभोक्ता समितिका अध्यक्ष भुवान सिंह ठकुरी, कोषाध्यक्ष श्रीमती टिगा वली र सचिव नन्द सिंह ठकुरी छन् ।
अख्तियारले अभियोगपत्रमा ५ जनाले मिलेमतोमा सिम्ता–२ को देउली–सिर्पा–काफलकोट जोड्ने सडकमा भएभन्दा बढी काम देखाई अनियमितता गरेको उल्लेख गरेको छ ।
अख्तियारले गाडी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने नाममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अभियोगमा महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गोंगबुका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा प्रहरी जवानत्रय देवेन्द्रबहादुर बलायर, हिटलर साउद र लोकेन्द्र थापा छन् ।
अख्तियारले दिब्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका नायव सुब्बा देउमान कडरियाविरुद्ध मुद्दा दायर गरेको छ । कडरियाले लालपुर्जा दिन सिफारिस गर्ने क्रममा सेवाग्राहीस“ग ५० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले जुम्लाको सिञ्जास्थित श्री चन्द्रसूर्य आधारभूत विद्यालयका शिक्षक बीरबहादुर बुढाविरुद्ध समेत मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको पुष्टि भएकाले बुढाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुई इन्जिनियर, ३ प्रहरीसहित ७ सरकारी कर्मचारी सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment