Tuesday, August 13, 2019

५ जनाविरुद्ध मुद्दा, दुई जना घूससहित पक्राउ

काठमाडौं, २७ साउन– घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन इन्जिनियरसहित पाँच कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिरहाको गोलबजार नगरपालिकाका इन्जिनियर जगदीशप्रसाद साह, सबइन्जिनियर उमा श्रेष्ठ, सर्लाहीको रामनगर नगरपालिकाका इन्जिनियर रामजीबाबु यादव, डिभिजन सडक कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र सशस्त्र प्रहरी बल नं ४ गण इनरुवाका जवान बलराम यादवविरुद्ध मुद्दा दायर गरेको हो । विद्यालयको शौचालय निर्माणको भुक्तानी दिने क्रममा साह र श्रेष्ठले घूस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
इन्जिनियर यादवविरुद्ध समेत मुद्दा दायर गरेको छ । विद्युत् जडानको प्राविधिक मूल्यांकन गरिदिने र भुक्तानी सहज बनाइदिने नाममा सेवाग्राहीसँग इन्जिनियर यादवले ५० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको, पौडेलले सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिएबापत १ लाख ७५ हजार र प्रहरी जवान यादवले व्यापार व्यवसाय सहज बनाइदिएबापत सेवाग्राहीसँग १ लाख ५० हजार घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी डोटी र दाङमा दुई जना घूससहित पक्राउ परेका छन् । काठ मिलाइदिने भन्दै ठेकेदारबाट लिएको ३ लाख २६ हजार घूससहित सबडिभिजन कार्यालय बीपीनगर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डीसी र प्रवेश परीक्षामा पास गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँसहित दाङको घोराही–१८ को रझेना माविका शिक्षक गणेश केसीलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।





No comments:

Post a Comment