Friday, August 2, 2019

अब सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

बचतमा अब अधिकतम ब्याज १० प्रतिशतमात्र
काठमाडौं, १७ साउन– सरकारले मुलुकभरका सहकारी संस्थाहरूले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । मुलुकभर सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिंदै आएका थिए । त्यसलाई अंकुश लगाउन सरकारले सहकारी संस्थाहरूले लिन पाउने ब्याजदर १६ प्रतिशतभन्दा बढी गर्न नपाइने सीमा तोकेको हो । अब सहकारी संस्थाले बचतमा अधिकतम १० प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले सहकारी संंस्थाहरूले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ब्याजदरको सीमा तोेकेको हो । सहकारी विभाग सहकारी संस्थाहरूको नियमनकारी निकाय हो ।
विभागका रजिष्ट्रार टोकराज पाण्डेले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजलाई मुख्य आधार बनाएर सहकारी संस्थाहरूको कर्जाको ब्याजदर अधिकत १६ प्रतिशतमात्र कायम गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार व्याजदर निर्धारण समितिको सिफारिसमा विभागले ब्याजको सीमा तोकेको हो ।
विभागद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन उनले समितिको सिफारिसमा साउन १९ देखि लागू हुने गरी सहकारी संस्थाको बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा घटी रहने व्यवस्था गरिएको जानकारीसमेत दिए ।
नया“ निर्णयअनुसार कर्जामा १६ प्रतिशत ब्याज लिने सहकारी संस्थाले अब बचतमा १० प्रतिशत या सोभन्दा कममात्र ब्याज दिन पाउने छन् । सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो । विभागले सहकारी क्षेत्रभित्र सुशासन कायम गर्न आवश्यक कार्यविधि र निर्देशिका निर्माणको कार्य भइरहेको जानकारीसमेत पाण्डेले दिए ।

No comments:

Post a Comment