Thursday, August 22, 2019

भ्रष्टाचारसम्बन्धी १५ सय केसमा विस्तृत अनुसन्धान : अख्तियार

काठमाडौं, ३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ सयवटा भ्रष्टाचारका केसमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालद्वारा मंगलबार राजधानीमा आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले त्यति ठूलो संख्यामा अनुसन्धान भइरहेको र क्रमशः भ्रष्टाचार मुद्दा दायर गरिने जानकारी दिए ।
उनले गत आथिक वषमा आयोगकै इतिहासमा अहिलेसम्म सबभन्दा बढी ३ सय ५१ वटा भ्रष्टार मुद्दा विशेष अदालतमा दायर गरिएको बताए । ती मुद्दामध्ये ८८ प्रतिशतमा नतिजा सकारात्मक आइरहेको दाबीसमेत उनको थियो । उनले झण्डै २ सय जना उच्च पदस्थ अनुसन्धानको दायरामा आएको जानकारीसमेत दिए । भ्रष्टाचार र घुस प्रकरणमा गिरफ्तारी बढेकाले अख्तियारको हिरासत खचाखच भइरहेकोसमेत उनले बताए । ‘हामीलाई अहिले गिरफ्तारीमा परेका अभियुक्तहरूलाई हिरासतमा राख्नै कठिन भइरहेको छ’ घिमिरले भने ।
अख्तियारले नमुनाका रूपमा ‘नागरिक निगरानी समूह’ गठन गर्न सुरु गरिएको र त्यसलाई सबै जिल्लामा विस्तार गर्दै लगिने घिमिरेले बताए । उनले अख्तियारले अहिले गरिरहेको कामप्रति समूहमार्फत जनताको धारणा बुझ्न सर्वेक्षण गरिरहेको बताए । उनले गत वर्षको सर्वेक्षणको नतिजा उत्साहप्रद नरहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर आयोगको नया“ रणनीति बनाउने काम भइरहेको बताए ।

No comments:

Post a Comment