Wednesday, August 14, 2019

बढी भ्रमण गर्नेमा शाक्य, महर्जन र दाहाल

काठमाडौं, २८ साउन– स्थानीय तहका पदाधिकारीहरूमा विदेश भ्रमण मोह बढदै गएको छ । स्थानीय तहका पदाधिकारीमध्ये सबभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खडगी, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भरतपुर महानगरकी प्रमुख रेणु दाहाल रहेको जानकारी संघीय मामिला मन्त्रालय स्रोतले दिएको छ ।
स्रोतका अनुसार काठमाडौ महानगरका प्रमुख शाक्य र उपप्रमुख खडगी अमेरिका र चीन भ्रमण, ललितपुरका प्रमुख महर्जन मंगोलिया र भियतनाम तथा भरतपुर महानगरकी प्रमुख दाहाल चीन र अस्ट्रेलियाको भ्रमणमा गएका थिए । स्थानीय तहका पदाधिकारीको भ्रमण निर्देशिकाविपरीत काठमाडौंंका प्रमुख शाक्य गत भदौमा महागरको खर्चमा हवाई टिकट लिएर अमेरिकाको भ्रमण गरेका थिए ।
मन्त्रालयका अनुसार विराटनगर महानगरका प्रमुख भीम पराजुली र घोराही उपमहानगरका प्रमुख निरुलाल चौधरीले दुई पटक विदेश भ्रमण गरेका छन् । पराजुली अमेरिका र भारत तथा चौधरीले दुईपटक चीनको भ्रमण गरेका थिए ।
स्थानीय तहका पदाधिकारीमध्ये सबभन्दा ठूलो टोली लिएर भ्रमणमा जानेमा पोखरा महानगरका प्रमुख मानबहादुर जीसी छन् । उनले जापान भ्रमणमा नौ जना सहभागी थिए । घोराही उपमहानगरका प्रमुख चौधरीको चीन भ्रमण टोलीमा आठ जना सहभागी थिए । वैदेशिक भ्रमण गर्नेमा नेपालगन्ज उपमहानगरका प्रमुख धवलसमसेर राणा, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवाहक प्रमुख मञ्जु भण्डारीसमेत छन् ।
एक वर्षको अवधिमा देशभरका स्थानीय तहका पदाधिकारीले १ सय २ पटक वैदेशिक भ्रमण गरेका थिए । उक्त भ्रमणमा १६४ जना पदाधिकारी संलग्न थए । स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणमा जाने क्रम बढेपछि संघीय मामिला मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको पूर्व स्वीकृत नलिई वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । स्थानीय तहको खर्चमा समेत भ्रमण गर्न नपाइने व्यवस्था कार्यविधिमा छ ।
स्थानीय तहका पदाधिकारी विदेशी मुलुकका शहरस“ग भगिनी सम्बन्ध कायम गर्न, सम्मेलन र अवलोकन भ्रमणमा जाने गरेका पाइएको छ । सबभन्दा बढी गत भदौमा ४० जना, फागुनमा ३५ जना, साउन र माघमा २१÷२१ जना, मंसिरमा १८ जना, कात्तिकमा १६ जना पदाधिकारी भ्रमणमा गएको रेकर्ड मन्त्रालयको छ ।
विदेश भ्रमणमा धेरै पदाधिकारी आयोजकको खर्चमा जाने गरेका पाइएको छ । भ्रमणमा जाने देशमा धेरैजसो पदाधिकारी अमेरिका, चीन, जापान, दक्षिण कोरिया गएका छन् ।  पदाधिकारीले चीनमा १८ पटक, अमेरिकामा १५ पटक, जापान र दक्षिण कोरियामा सात÷सात पटक भ्रमण गरेका छन् । मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ ।
निर्देशिकामा आयोजकले खर्च नबेहोर्ने, तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएको जानकारी मन्त्रालय स्रोतले दिएको छ ।

No comments:

Post a Comment