Thursday, August 22, 2019

५ इन्जिनियरसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ४ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा बुधबार ५ इन्जिनियरसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका इन्जिनियर कमलप्रसाद सिटौलासहित ५ जनाले १५ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा सिटौलाका अतिरिक्त आयोजनाका इन्जिनियरहरू विश्वेश्वरप्रसाद शाह, हरिप्रसाद चौधरी र आनन्दलाल प्रसाद साह र सवारी चाकल टंकप्रसाद ओझा छन् ।
निर्माण योजनाको तारजालीमा ढुंगा भर्ने कामको बिल रकम भुक्तानी गरेबापत उनीहरूले सेवाग्राहीसित १५ लाख रुपैयाँ घूस लिएका थिए । घूस रकम गाडीमा राखेको अवस्थामा अख्तियारको टोलीले एक महिनाअघि उनीहरूलाई पक्राउ गरेको थियो ।
अख्तियारले साना सिँचाई कार्यक्रम, दैलेखका इन्जिनियर सलबहादुर बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुढाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै ५ इन्जिनियर र सवारी चालक सरकारी सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment