Sunday, August 11, 2019

सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ४४ अर्ब

  • लगानी ५ अर्ब ६४ करोड, नगद मौजदात ३८ अर्ब ५७ करोड
  • वार्षिक आम्दानी ६ अर्ब, सरकारलाई राजस्व ४५ करोड
काठमाडौं, २५ साउन– नेपाली सेनाले सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ४४ अर्ब रुपैयाँ पुगेको जनाएको छ । सेनाले राजधानीमा पत्रकार सम्मेलन गरी कोषमा नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ रहेकोे जनाएको छ ।
कोषका निर्देशक सागरबहादुर केसीले ५ अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैया“ लगानीसमेत समावेश गर्दा कुल सम्पत्ति ४४ अर्ब पुगेको बताए । उनका अनुसार कोषमा ०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख थियो । त्यसपछिको अवधिमा २ अर्ब ८० करोड ३६ लाख बढेर ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
कोषले विभिन्न निकायमा असारसम्म ५ अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानी गरेको उनले जानकारी दिए । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क कोषको आम्दानीका स्रोत हुन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर ५ करोडबाट २ लाख ६६ हजारमा झारेको दाबीसमेत केसीको छ । उनका अनुसार यसअघि जोखिममा रहेको रकम ८५ करोड रुपैयाँ हाराहारी थियो ।
कोष र अन्तर्गतका निकायमा ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष ३० करोड ४० लाख ७३ हजार फछ्र्योट भएको दाबी उनले गरे । कोषको मूल धनबाट प्राप्त हुने ब्याजबाट पूर्व र वर्तमान अधिकृत, पदिक र जवानलगायत हिताधिकारी र तिनका परिवारको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा खर्च हुने गरेको छ ।
सेनाले ०३२ सालमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सहभागी भएबापत प्राप्त १ करोड २४ लाख १ हजार रकम राखी कोष स्थापना गरेको हो ।  कोषको रकम वाणिज्य बैंक तथा वित्तीय संस्था गरी २८ वटा भन्दा बढीमा निक्षेपमा राखेको छ । केसीका अनुसार सेनाले कल्याणकारी कोषमार्फत सञ्चालन भएका कार्यक्रमबाट वार्षिक ४५ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाउने गरेको छ । सेनाले उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको शैक्षिक नतिजा अरू शिक्षण संस्थाको तुलनामा राम्रो रहेको दाबीसमेत गरेको छ ।
कोषमार्फत कार्यक्रम सञ्चालन गर्न वार्षिक ५ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । कोषले ती कार्यक्रममार्फत पछिल्लो समय वार्षिक ६ अर्ब रुपैयाँ आम्दानी गर्न थालेको सेनाले जनाएको छ ।

No comments:

Post a Comment