Monday, August 5, 2019

उपनिर्वाचनमा साउन १६ सम्म १८ वर्ष पुगेका मतदाता

काठमाडौं, १९ साउन– आगामी उपनिर्वाचनमा साउन १६ (बिहीबार) सम्म १८ वर्ष उमेर पूरा भएका व्यक्ति मात्र मतदाता हुने भएका छन् ।
मन्त्रिपरिषद्ले बिहीबार निर्वाचन आयोगको सिफारिसमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन गराउने मिति तोकेको छ । आयोगले उपनिर्वाचनको मिति तोकिएको दिनसम्ममा १८ वर्ष उमेर पूरा भएका व्यक्तिमात्र मतदाता हुने पाउने जानकारी दिएको छ । आयोगका अनुसार उपनिर्वाचनमा मत दिन साउन १६ सम्ममा मतदाता नामावलीमा नामसमेत दर्ता भइसकेको हुनुपर्नेछ । १८ वर्ष पुगे पनि मतदाता नामावलीमा नाम दर्ता नगराए उपनिर्वाचनमा मत दिन पाइने छैन ।
आयोगले साउन १६ सम्म संकलन भएका मतदाताको विवरण अद्यावधिक गरी उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उपनिर्वाचन हुने सबै जिल्लामा साउन १७ देखि लागू हुने गरी नया“ मतदाता नामावली संकलन कार्य रोकेको छ ।
मतदाता नामावली ऐनअनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता र अद्यावधिक कार्य अर्को निर्णय नभएसम्म रोकिएको जानकारी आयोगले दिएको छ ।
मंसिर १४ मा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिका प्रमुख १, गाउ“पालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका र नगरपालिका वडाध्यक्ष ४१ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ । ती पदका लागि ३६ जिल्लामा उपनिर्वाचन हुनेछ । मिति तोकिएसँगै उपनिर्वाचनको तयारीलाई तीव्रता दिइएको आयोगले जनाएको छ ।

No comments:

Post a Comment