Tuesday, August 20, 2019

नायिका शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश

काठमाडौं, १ भदौ– सर्वोच्च अदालतले बहुविवाहसम्बन्धी मुद्दामा नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश दिएको छ । जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । शिल्पाले त्यसविरुद्ध दिएको निवेदनलाई अस्वीकार गर्दै उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।
जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध शिल्पाले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराको एकल इजलासले आइतबार उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि शिल्पा भदौ १५ गतेसम्म पक्राउ पर्ने छैनन् ।
सर्वोच्चले शिल्पाको निवेदनमा अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने सम्बन्धमा छलफलका लागि आगामी भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ । दुवै पक्षसितको छलफलपछि शिल्पालाई पक्राउ गरेर या नगरी मुद्दा अघि बढाउने सम्बन्धमा सर्वोच्चले निर्णय दिने छ ।
चलचित्र निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले शिल्पा र छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाहको उजुरी दिएकी छन् ।

No comments:

Post a Comment