Saturday, February 16, 2019

मेलम्चीले धरौटीबापतको डेढ अर्ब पाउने बाटो खुल्यो

काठमाडौैं, ३ फागुन– मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिडेको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे ग्रुप अफ कम्पनीबाट बैंक धरौटीबापतको १ अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ ।
चाइना रेल्वले सन् २००९ मा मेलम्चीको सुरुङ निर्माणको ठेक्का लिंदा हिमालयन बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । चाइना रेल्वेका तर्फबाट चाइना कन्सट्रक्सन बैंक काउन्टर ग्यारेन्टी बसेको थियो । चाइना कन्सट्रक्सन बैंकको काउन्टर ग्यारेन्टी पत्रका आधारमा दुई नेपाली बैंक सहायक ग्यारेन्टी बसेका हुन् ।
चिनिया“ सर्वोच्च अदालतले बुधबार चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नेपाली बैंकलाई तिर्न आदेश दिएको जानकारी मेलम्ची आयोजनाका एक अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार त्यही आदेशका कारण मेलम्चीले चाइना रेल्वेको धरौटीबापतको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने बाटो खुलेको हो ।
मेलम्ची खानेपानी विकास समितिले सन् २०१३ मा ठेक्का तोडिएपछि चाइना रेल्वेको धरौटी जफत गर्ने निर्णय गरी  बैंक अफ काठमाडौं र हिमालयन बैंकलाई रकम दिन पत्र लेखेको थियो । तर, काउन्टर ग्यारेन्टी बसेको चिनियाँ बैंकले रकम नदिएको भन्दै दुई नेपाली बैंकले मेलम्चीलाई चाइना रेल्वेको धरौटी दिन आलटाल गर्दै आएका थिए । मेलम्चीको धेरैपटकको दबाबपछि दुई बैंक अदातलमा गएका थिए । अदालतले  चिनियाँ बैंकबाट रकम नआएसम्म धरौटी दिनका लागि दबाब नदिन मेलम्चीलाई अन्तरिम आदेश दिएको थियो ।
 चाइना कन्सट्रक्सन बैंकले आफ्नो प्रदेशस्तरीय अदालतले काउन्टर ग्यारेन्टी रकम नतिर्न आदेश दिएको भन्दै दुई बैंकलाई रकम निकासा गर्न अस्वीकार गर्दै आएको थियो । ठेक्का तोडिएको झन्डै ६ वर्षपछि  चिनिया“ सर्वोच्च अदालतले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडौं र हिमालयन बैंकलाई तिर्न आदेश दिएको छ । 
आदेशपछि हिमालयन बैंक र बैंक अफ काठमाडौंले चाइना कन्सट्रक्सन बैंकबाट चाइना रेल्वेको धरौटी रकम १ अर्ब ५१ करोड रुपैयाँ पाउने भएका छन् । चाइना कन्सट्रक्सन बैंकले अदालतको आदेशबमोजिम अब रकम निकासा दिने जानकारीसमेत मेलम्चीका अधिकारीले दिए । मुद्दाको अन्तिम सुनुवाइमा नेपाली दुवै बैंकका तर्फबाट वकिलसमेत सहभागी थिए ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको चाइना रेल्वले २० प्रतिशत भुक्तानी लगेर कामै नगरी सन् २०१३ मा ठेक्का तोडेको थियो । चाइना रेल्वे फर्केपछि मुख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन बैंकले रकम भुक्तानी नगरेपछि मेलम्ची आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका बैंक अफ काठमाडौं र हिमालयन बैंकबाट धरौटीबापतको रकम जफत गर्न पाएको थिएन ।
चाइना रेल्वेका तर्फबाट बैंक अफ काठमाडौंले ८५ करोड र हिमालयन बैंकले ६६ करोड बराबरको  बैंक ग्यारेन्टी बसेका थिए । दुवै बैंकले चाइना रेल्वे ठेक्का तोडेर फर्केपछि चाइना कन्सट्रक्सन बैंकसित धरौटी रकम माग गरेका थिए । चाइना कन्सट्रक्सन बैंकले त्यसका विरुद्ध चीनको प्रदेशस्तरीय अदालतमा मुद्दा दायर गरेको थियो । चीनको प्रदेशस्तरीय अदालतले चाइना रेल्वेको धरौटी रकम नेपाली बैंकलाई तिर्नु नपर्ने फैसला गरेको थियो । 
चाइना कन्सट्रक्सन बैंकबाट रकम नआएकाले मेलम्चीलाई रकम तिर्न नसकिने जिकिर गर्दै हिमालयन बैंक र बैंक अफ काठमाडौंले तत्कालीन पुनरावेदन अदालत पाटनमा मेलम्चीविरुद्ध मुद्दा दायर गरेका थिए । अदालतले चाइना कन्सट्रक्सन बैंकबाट रकम नआएसम्म धरौटीका लागि दबाब नदिन मेलम्चीलाई अन्तरिम आदेश दिएको थियो ।
चिनिया“ सर्वोच्च अदालतले तल्लो अदालतको निर्णय उल्ट्याई नेपाली बैंकलाई रकम बुझाउन चाइना कन्सट्रक्सन बैंकलाई आदेश दिएपछि चाइना रेल्वेको धरौटीबापतको रकमसम्बन्धमा लामो समयदेखि उत्पन्न अन्यौल अन्त्य भएको मेलम्ची आयोजनाका अधिकारी बताउ“छन् ।
मेलम्ची खानेपानी विकास समितिले चाइना रेल्वेलाई सन् २००९ मा २७.५ किमी सुरुङ निर्माणको ठेक्का दिएको थियो । ठेक्का सम्झौतामा सन् २०१३ को सेप्टेम्बरसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने उल्लेख थियो । सम्झौताअनुसार निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसम्म चाइना रेल्वेले जम्मा ६ किलोमिटरमात्रै सुरुङ खनेपछि मेलम्ची खानेपानी विकास समितिले ठेक्का तोडेको थियो ।

No comments:

Post a Comment