Tuesday, February 26, 2019

चिनियाँ नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, १३ फागुन– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चिनियाँ नागरिकविरुद्ध सोमबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । ४ वर्ष अघि चिनियाँ नागरिकबाट बरामद भएको  १ करोड ३० लाख रुपैयाँ अवैध र गैरकानुनी कार्यबाट आर्जन गरिएको पुष्टि भएको उल्लेख गर्दै विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले २०७१ साउनमा बरामद गरेको अवैध रकम चिनियाँ नागरिक ली जिओफेङले नेपालमा गैरकानुनी स्रोतबाट आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।
महानगरीय अपराध महाशाखाले ठमेलमा बस्दै आएका लि र उनकी श्रीमतीलाई अवैध रकम तातोपानी नाका हुँदै चीन पठाउँदै गर्दा नियन्त्रणमा लिएको थियो।
महाशाखाले बरामद रकमसहित थप कारवाहीका लागि २०७१ साउन १९ मा सम्पत्ति शुद्धिकरण विभागमा छानबिनसहित मिसल बुझाएका थिए । पक्राउ परेका चिनियाँ नागरिक धरौटीमा रिहा भएका थिए । सम्पत्ति शुद्धिकरण विभागले आफूमाथि अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक ली फरार भएका छन् ।
चिनियाँ नागरिकलाई फरार प्रतिवादी कायम गर्दै बरामद रकम जफतको मागदाबीसहित मुद्दा दर्ता गरिएको जानकारी विभागले दिएको छ । विशेष अदालतमा दर्ता मुद्दाको कारबाहीसँगै प्रहरीले चिनियाँ नागरिकका हकमा इन्टरपोलको सहयोग लिएर पक्राउ गर्न सक्छ ।

No comments:

Post a Comment