Saturday, February 23, 2019

घलेलाई मानार्थ अध्यक्ष नहटाउन आदेश

काठमाडौं, १० फागुन– पाटन उच्च अदालतले टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काललाई नहटाउन अन्तरिम आदेश दिएको छ ।
गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । त्यसको विरुद्ध घलेले उच्च अदालतमा रिट दायर गरेका थिए । मुद्दामा प्रारम्भिक सुनुवाइपछि न्यायाधशि केशवराज जोशीको एकल इजलासले घलेलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको  हो । आदेशमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म घलेलाई पदबाट नहटाउन भनिएको छ ।
माघ ३ मा  एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मानार्थ अध्यक्षबाट हटाएको थियो । गत वैशाखमा निर्वाचित एन्फाको नेतृत्वले घलेलाई मानार्थ अध्यक्ष नियुक्त गरेको थियो । कर्माछरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा जिताउन भूमिका निर्वाह गरेका कारण घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको हो ।
घलेले एन्फा नेतृत्वस“ग अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिन माग गर्दै आएका थिए । एन्फाले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नवीन पाण्डेलाई दिएपछि घले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए । त्यही कारण एन्फाको नेतृत्वलाई घलेलाई मानार्थ अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

No comments:

Post a Comment