Tuesday, February 12, 2019

१ लाख ५१ हजार नक्कली नोटसहित पक्राउ

काठमाडौं, २७ माघ– नेपाल प्रहरीले राजधानीको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।
कुँवरबाट १ सय ५१ थान हजार दरका नोट बरामद भएका छन् ।
प्रहरी स्रोतका अनुसार विशेष सूचनाका आधारमा प्रभागको टोलीले गोंगबुको गणेशथानस्थित ह्याप्पी होम टोलमा पुगेर छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १ सय ४१ वटा हजार दरका नक्कली नोट भेटिएको थियो । नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि थप १० थान नक्कली नोट भेटिएको थियो ।
हिक्मत भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ओमबहादुर र हिक्मतको कोठाबाट ५० थान पासपोर्टसमेत बरामद भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्रहरीले उनीहरू दुवै जना म्यानपावर एजेन्ट भएको अनुमान गरेको छ । उनीहरूले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ ।
यसअघि काठमाडौं प्रहरी परिसरले कात्तिक अन्तिम साता साढे दुई करोड रुपैयाँ नक्कली नोट बरामद गरेको थियो ।

No comments:

Post a Comment