Monday, February 18, 2019

प्रस्तावित दुई अध्यक्षमाथि मंगलबार सुनुवाइ

काठमाडौं, ५ फागुन– संघीय संसदको सुनुवाइ समितिले मंगलबार प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीमाथि मंगलबार सुनुवाइ गर्ने भएको छ ।
समितिको आइतबार बसेको बैठकले चार संवैधानिक आयोगमा सिफारिस ५ अध्यक्षमध्ये मंगलबार दुई जनामाथि सुनुवाइ गर्ने निर्णय गरेको हो ।
समितिले पौडेल र सुवेदीपछि मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित क्रमशः विजयकुमार दत्त, विष्णुप्रसाद चौधरी र समिम अन्सारीका नाममा सुनुवाइ गर्नेछ ।
 समितिले अध्यक्षमा सिफारिस ५ अध्यक्षविरुद्ध परेका उजुरीका बारेमा समेत छलफल गरेको थियो । मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध ४ वटा उजुरी परेका छन् भने अरू चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन ।
समितिले अन्सारीविरुद्ध उजुरी दिने चार उजुरीकर्तासित मंगलबार छलफल गर्ने भएको छ । उजुरीमा अन्सारीको शैक्षिक योग्यता नक्कली रहेको दाबी गरिएको छ । उजुरीकर्तासितको छलफलपछि अन्सारीसहित तीन अध्यक्षको नाममा सुनुवाइ गर्ने दिन तय गरिने जानकारी समितिको सचिवालयले दिएको छ ।

No comments:

Post a Comment