Thursday, February 14, 2019

न्यायाधीश बानियाँमाथि छानबिन गर्न न्याय परिषदलाई अख्तियारको पत्र

काठमाडौं, १ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि घुस प्रकरणमा अनुसन्धान गरी कारबाही गर्न न्याय परिषद सचिवालयलाई पत्र पठाएको छ ।
सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँकै सल्लाह र सहमतिमा घुस लिएको बयान दिएपछि अख्तियारले न्याय परिषदलाई पत्र पठाएको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा बानिया“माथि अनुसन्धान गर्न आफूले प्राप्त गरेका प्रमाण र कागजातसहित न्यायपरिषदमा पत्र पठाइएको उल्लेख छ । संविधान र कानुनअनुसार न्यायाधीशमाथि अनुसन्धान गर्न आयोगको क्षेत्राधिकार नभएकाले बानियाँमाथि  छानबिन गरी कारबाही गर्न न्यायपरिषदमा पत्र पठाइएको अख्तियारले जनाएको छ ।
‘नासु चालिसेले अनुसन्धानको क्रममा बयान गर्दा उक्त बरामद भएको ५ लाख काठमाडौं जिल्ला अदालतका न्यायाधीश बानिया“को इजलाशमा विचाराधीन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा लिएको भनी उल्लेख गरेको हुँदा बानियाँको हकमा अनुसन्धान गर्न प्राप्त प्रमाण कागजातसहित न्याय परिषदमा लेखि पठाइएको छ’ अख्तियारको वक्तव्यमा छ ।
नासु चालिसे काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बानियाँकै इजलाशमा कार्यरत थिए । अख्तियारले चालिसेविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा चालिसेले घुस लिएको पुष्टि भएकाले ५ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment