Monday, February 25, 2019

विस्फोट विप्लव समूहले गरेको हो : गृहमन्त्री

काठमाडौं, १२ फागुन– गृहमन्त्री रामबहादुर थापाले शुक्रबार मुलुकका २० जिल्लामा निजी मोबाइल सेवा प्रदायक एनसेल कम्पनीका टावर लक्षित गरी नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाले विस्फोट गराएको बताएका छन् ।
उनले आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बम विस्फोट गर्ने तत्वको पहिचान भइसकेको उल्लेख गर्दै नामै किटेर विप्लव समूहले गराएको जानकारी दिएका हुन् ।
‘हालसम्म कसैले विस्फोट गराएको जिम्मेवारी लिएको त छैन । अहिलेसम्म प्राप्त अनुसन्धानको रिपोर्टअनुसार राज्यविरोधी, संविधानविरोधी शक्ति विप्लब समूहले विस्फोट गराएको हो’ उनले भने ।
उनले विप्लब समूहको केन्द्रीय योजना अनुसार देशव्यापी रूपमा आक्रमण गरिएको अनुसन्धान रिपोर्ट आएको बताए । ‘उनीहरू (विप्लब समूह) को भर्खर बसेको बैठकले गरेको निर्णय तथा राज्यलाई प्राप्त डकुमेन्टबाट सत्ता उल्टाउनका लागि लागिपरेको यही समूह हो भन्ने रिपोर्ट आएको छ’ थापाले भने ।
उनले मुलुकभरबाट बम विस्फोटको घटनामा संलग्न १६ जनालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरी प्रशासनले आक्रमण गर्ने टिमहरूको पहिचान गरिसकेको र पक्रने प्रक्रिया अघि बढिरहेको जानकारीसमेत गृहमन्त्रीले दिए ।

No comments:

Post a Comment