Saturday, February 16, 2019

७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा कृषि विकास कार्यालयका लेखापाल डिल्लीप्रसाद आचार्य र नायव सुब्बा दुर्गाप्रसाद पौडेल छन् ।
कार्यालयले अलैंचीको बिरुवा खरीद गरी कृषकलाई वितरण गर्ने क्रममा कमिसन दिने व्यक्तिलाई मात्र दिई १० लाख ८६ हजार ७ सय २५ रुपैयाँ भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।  अभियोगपत्रमा उनीहरूले इलामबाट बिरुवा ल्याउँदा र सम्बन्धित क्षेत्रमा पु¥याउँदा गाडी भाडासमेत घोटाला गरेको दाबी अख्तियारले गरेको छ ।
अख्तियारले भाडाका सवारी साधन नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपु¥याई अनियमितता गरेकामा यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृत बाबुराम लामिछाने र नायब सुब्बा ऋषिराम ढकालविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।
सवारी दर्ता ढडडामा बदनियतपूर्वक विभिन्न मितिमा सवारी दर्ता गरिएका ठाउ“मा पछि सरकारी कागजात सच्याई सवारी दर्ता गरेको देखिएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार सञ्जयकुमार ठाकुरविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने राजस्व छुट गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ५० हजार घुससहित पक्राउ परेका ठाकुरविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले प्रगति माध्यमिक विद्यालय बेलभरिया रुपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माविरुद्ध समेत शुक्रबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएकाले शर्माविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment