Friday, February 15, 2019

पुल उचालेर भए पनि पानीजहाज चलाउँछौं : प्रधानमन्त्री

काठमाडौं, २ फागुन– प्रधानमन्त्री केपी ओलीले मुलुक अब पानी जहाज युगमा प्रवेश गरेको बताएका छन् । ललितपुरको एकान्तकुनामा बिहीबार ‘नेपाल पानीजहाज कार्यालय’ उदघाटन गर्दै उनले मुलुकमा रेलभन्दा पहिले पानी जहाज सञ्चालनमा आउने बताए ।
‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ । पानी जहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन । सानो डुंगाजस्तो पनि होइन । ठिक्कको पानीजहाज आउँछ र ल्याएर चलाउँछौ’ ओलीले भने ।
प्रधानमन्त्रीले मुलुकका नदीको आकार र गहिराइअनुसार पानी जहाज ल्याएर चलाइने बताए ।
‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन् । पानी जहाजको आकार हेरेर होइन नदीको क्षमताअनुसार पानी जहाज बनाउन र चलाउन सकिन्छ’ उनले भने, ‘गहिराइ नचाहिने गरी फिजिएको पानी जहाज बनाउन सकिन्छ ।’
उनले मुलुकका नदीबाट समुद्रसम्म पानी जहाज चल्न थालेपछि नेपाल भुपरिवेष्ठित राष्ट्र नरहने दाबी गरे ।
‘मुलुकमा जहाज त उडेका थिए । अब भुइँ नछोई नेपालका नदी भएर पानीमाथिबाटै संसार घुम्न सकिन्छ’ उनले भने । उनले नेपालमा पानी जहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने थालिसकेको बताए ।
‘पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने पनि छ । संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसकेको छ, खोलाको वहाव परिवर्तन गर्न सकिन्छ । पानीजहाज ल्याउन पुलले बाधा पु¥याउँदैन’ उनले भने । प्रधानमन्त्रीले रेल र पानी जहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेशमा निःशुल्क इन्जििनियरिङ पढ्न पठाउने उदघोषसमेत गरे ।


No comments:

Post a Comment