Tuesday, February 12, 2019

अब भ्रष्टाचार लुक्दैन : प्रधानमन्त्री

काठमाडौं, २८ माघ– प्रधानमन्त्री केपी ओलीले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको दाबी गर्दै अब कसैले पनि भ्रष्टाचार लुकाउन सम्भव नहुने बताएका छन् ।
‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौं, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन । त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले कारबाही गरेर दण्ड विधिबाट भन्दा नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनी, सन्त र महात्माहरुको देश र त्यस्ताका सन्तति हामीले नगरे कसरी हुन्छ भ्रष्टाचार ?’ उनले भने ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतीज्ञा गर्ने हो भने भ्रष्टाचार नै हु“दैन ।’
उनले भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिलाई  अन्त्य गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न आफूले अख्तियारलाई सहयोग गर्ने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक सेवा, खरिद र निर्माण कानुनअनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । उनले अख्तियार विकास निर्माणको बाधक नभई सहयोगी रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोसिसमात्र गरिने बताए ।
उनले अख्तियारले राष्ट्रिय गौरवको आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा ती आयोजनामा निगरानी गर्न थालेको बताए । ‘भ्रष्टाचार सबैको शत्रु भएकाले भ्रष्टाचार नियन्त्रण सबैको साझा धारणा हुनुपर्छ’ घिमिरेले भने, ‘सरकारी कर्मचारीले आफ्नो काम राम्रोसँग सम्पादन गरेमा भ्रष्टाचार न्युनीकरण हुन्छ ।’

No comments:

Post a Comment