Tuesday, February 12, 2019

वीपी उद्यानको जग्गा नमास्न कांग्रेसको खवरदारी

काठमाडौं, २७ माघ– प्रमुख प्रतिपक्षी कांग्रेसले वीरगन्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले सहिद स्मृति पार्क बनाउन लागेकामा आपत्ति जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको माघ २४ मा बसेको बैठकले वीरगन्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा अरू प्रयोजनका लागि नदिन सरकारसमक्ष माग गरेको छ ।
वीपी उद्यानका लागि छुट्टयाइएको जग्गा अरू प्रयोजनका लागि दिइए आन्दोलनमा उत्रने चेतावनीसमेत कांग्रेसले दिएको छ ।
वीरगन्ज महानगरको स्वामित्वमा रहेको उक्त जग्गामा गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए ।
कांग्रेसले प्रदेश सरकारको निर्णय सच्याउनका लागि केन्द्र सरकारको पनि खबरदारी गर्दै वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेको हो । ‘सरकारको शैली जुन प्रकारको देखियो, त्यो बदल्नुपर्छ, यसमा केन्द्रीय सरकारले गम्भीरता देखाओस्, प्रदेश सरकार पनि गम्भीर बनोस् । वीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रूपमा अगाडि बढोस्’ कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
शर्माले २०६० कात्तिकमा तत्कालीन श्रम तथा यातायात मन्त्री प्रकाशचन्द्र लोहनीले वीपी उद्यानको शिलान्यास गरिसकेको जानकारी गराउँदै अहिले आएर अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताए । उनले कांग्रेसका नेताको नाम मेट्ने दुस्साहस नगर्नसमेत चेतावनी दिए ।



No comments:

Post a Comment