Wednesday, February 6, 2019

१९ हजारभन्दा बढीलाई कारबाही गर्न सिफारिस

काठमाडौं, २२ माघ– राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका १९ हजारभन्दा बढी सार्वजनिक पदधारी तथा कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
केन्द्रले अघिल्लो आर्थिक वर्षमा १९ हजार १ सय ३४ जना सार्वजनिक पद धारण गरेका व्यक्ति र सरकारी कर्मचारीले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएकाले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको हो ।
केन्द्रले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी र कर्मचारीको नामसहितको विवरण अख्तियारलाई पठाइएको जनाएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी र कर्मचारीलाई ५ हजार रुपैया“ जरिवाना गर्ने व्यवस्था छ । अख्तियारले कानुनलाई अटेर गर्ने सार्वजनिक पदधारी र कर्मचारीको सम्पत्तिमाथि छानबिन गरी अकुत आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गर्न सक्ने कानुनी व्यवस्थासमेत छ ।
प्रतिवेदनअनुसार संघीय संसद र प्रदेशसभा सदस्य, मन्त्रिपरिषदका सदस्य, निजामती कर्मचारी, शिक्षकसहित सबै सेवाका गरी साढे ५ लाख सार्वजनिक पदधारी र राष्ट्रसेवकमध्ये १९ हजार १ सय ३४ जनाले सम्पत्ति विवरण नबुझाएका हुन् ।
सार्वजनिक पदधारी र कर्मचारीले आर्थिक वर्ष सकिएको ६० दिनभित्रमा सम्पत्ति विवरण बुझाउने र अद्यावधिक गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था छ ।

No comments:

Post a Comment