Thursday, February 14, 2019

साढे सात करोड राजस्व चुहावट गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौं, १ फागुन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे सात करोडभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा भन्सार अधिकृतसहित ८ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी ७ करोड ५९ लाख ६३ हजार १ सय ९० रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्यितारले जनाएको छ।
मुद्दा दायर गरिएकामा रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खडका, नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेसनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ, नेपाल बंगलादेश बैंकको गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र चालक डम्बरबहादुर श्रेष्ठ छन् ।
अख्तियारले उनीहरूविरुद्ध जनही ७ करोड ५९ लाख ६३ हजार १ सय ९० रुपैयाँ बिगो बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरिेको छ ।
उनीहरूले मिलेमतोमा थाइल्यान्डमा निर्मित २ हजार १ सय ६० जोडी जुत्ताको उत्पत्ति मुलुक चीन देखाई गलत घोषणा गरिएकामा रसुवा भन्सार कार्यालयबाट जरिवाना नगरी छाडिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment