Thursday, February 21, 2019

पराजुली र लोकमानलाई समेत कारबाही गर्न डा. केसीको माग

काठमाडौं, ८ फागुन– डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँगै पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि समेत कारबाही गर्न माग गरेका छन् ।
अख्तियारले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैया“ घुस लिएको सार्वजनिक भएपछि आफ्नै पूर्व आयुक्त पाठकमाथि सार्वजनिक पद दुरुपयोगमा कारबाही गर्न छानबिन अघि बढाएको छ ।
केसीले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक पदको चरम दुरुपयोग गरेका पराजुली र लोकमानमाथि समेत कानुनअनुसार भ्रष्टाचारको कसुरमा कारबाही गर्न पाठकस“गै छानबिन अघि बढाउन माग गरेका छन् ।
विज्ञप्तिमा चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरेकाले दुई वर्ष अगाडि नै आफूले पराजुली र लोकमानलाई महाभियोग लगाउन माग गरेकोसमेत उल्लेख गरेका छन् । केसीले विज्ञप्तिमा पाठकले घुस लिएको थाहा पाएर पनि प्रधानमन्त्री केपी ओली लामो समयसम्म मौन बस्नु गम्भीर आपत्तिजनक भएको टिप्पणी गरेका छन् । ‘यो विषय बाहिर आएपछिसमेत कारबाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना हो’ केसीले विज्ञप्तिमा भनेका छन्– ‘एकापट्टि दैनिक भाषणमा सुशासनको चर्को नारा लगाउने अनि अर्कापट्टि देशमा व्याप्त दण्डहीनताको विषयमा मौन बसी प्रश्रय दिनुले प्रधानमन्त्री ओलीको दोहोरो चरित्र उदांग भएको छ ।’
उनले गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरूको माग पूरा गर्न र संघीय संसदमा दर्ता भएको अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण प्रदर्शनमाथि अंकुश लगाउने गरी ल्याइएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक सच्याउन माग गरेका छन् ।
उनले सरकारसित १५ औं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्नसमेत माग गरेका छन् । उनले सरकार सहमतिविपरीत अघि बढेमा जुनसुकै समयमा आमरण अनसनसहितको सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।


No comments:

Post a Comment