Wednesday, February 6, 2019

अन्ना हजारेको सत्याग्रहलाई समर्थन गर्दै डा. केसीको पत्र

‘सत्याग्रह अपराजित छ’
काठमाडौं, २१ माघ– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले भारतमा अनसनरत सत्याग्रही अन्ना हजारेलाई पत्र लेखी उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । १६ औं अनसन फिर्ता लिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत केसीले भारतमा भ्रष्टाचार नियन्त्रण गर्न ल्याइएको लोकपाल ऐनअनुसार केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकायुक्त नियुक्त गर्नुपर्ने माग गर्दै माघ १६ देखि हजारेले सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।
केसीले पत्रमा भ्रष्टाचारविरुद्धको लडाइ“का लागि हजारेको माग धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली नागरिकका लागि पनि उनको लडाइ“ अनुकरणीय रहेको टिप्पणी गरेका छन् । केसीले आफू पनि ७ वर्षदेखि भ्रष्टाचार र कुशासनविरुद्ध लडिरहेको उल्लेख गर्दै त्यसको सुरुआत चिकित्सा शिक्षा र सेवा क्षेत्रमा रहेको विकृति हटाउन केन्द्रित गरेको जनाएका छन् । उनले आफ्नो अभियान निरन्तर जारी रहने उल्लेख गरेका छन् ।
केसीले आफूले १५ औं अनसनका क्रममा भएका सम्झौता कार्यान्वयनको माग राखेर १६ औं अनसन बसे पनि जनताप्रति अनुत्तरदायी सरकारले बेवास्ता गरेको र नागरिक समाजका प्रवुद्ध व्यक्तिको आग्रहमा आफूले अनसन तोडेको उल्लेख गरेका छन् । आफ्नो अनसनका क्रममा सरकारले न्युनतम लोकतान्त्रिक चरित्र पनि नदेखाएको जिकिर केसीले गरेका छन् ।
‘सामान्य अर्थमा मेरो सिकाइ के छ भने सत्याग्रह अपराजित छ । सरकारलाई जवाफदेही बनाउन र कानुनको शासन पालनाका लागि म सत्याग्रहको शक्ति र जनतामा विश्वास गर्छु’ पत्रमा केसीले भनेका छन् ।

No comments:

Post a Comment