Monday, September 12, 2011

मन्त्रीहरुलाई अनुशासनमा बाँध्न आचारसंहिता बनाइने

काठमाडौं, २६ भदौ- सरकारले प्रधानमन्त्री र मन्त्रीहरुलाई 'अनुशासमा राख्न' आचारसंहिता निर्माण गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न पार्टी सम्मिलित संयुक्त सरकारका प्रधानमन्त्री र मन्त्रीहरुबीच अनुशासित र सन्तुलित सम्बन्ध कायम राख्न तथा उनीहरुको आचरणसमेत अनुशासित बनाउन आचारसंहिता निर्माण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकपछि उपप्रधानमन्त्री तथा सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरुको आचारसंहिताको सामान्य मस्यौदा तयार गरिसकिएको र त्यसलाई केही दिनभित्रै अन्तिम रुप दिई लागू गरिने जानकारी दिए ।
आचारसंहितामा विभिन्न दलका मन्त्रीहरुबीच एक-आपसमा सार्वजनिक रुपमा आरोपप्रत्यारोप नगर्ने कुनै असन्तुष्टि राख्नुपरेमा सत्तारुढ दलहरुको छलपल या मन्त्रिपरिषद बैठकमा राखी समाधान गर्ने प्रस्ताव गरिएको छ । अघिल्ला विभिन्न सरकारका मन्त्रीहरुबाट कर्मचारीहरुलाई हातपात आफ्नै गाडी तोडफोड कानुनविपरीत विभिन्न कार्य गर्नेजस्ता अमर्यादित व्यवहार हुँदै आएकाले त्यस्ता कि्रयालापलाई नियन्त्रण गरी अनुशासनमा राख्न आचारसंहिता निर्माण गर्न लागिएको जानकारी एक मन्त्रीले दिए ।
पौडेल आर्थिक सल्लाहकार नियुक्त
सरकारले अर्थमन्त्रालयको आर्थिक सल्लाहकारमा डा। श्रीराम पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विषयका प्राध्यापक पौडेललाई राज्यमन्त्रीसरहको तलबसुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको हो ।
पौडेल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा समेत अर्थमन्त्रालयको सल्लाहकार थिए । त्यतिबेला उनी तत्कालीन अर्थमन्त्री डा। बाबुराम भट्टराईको बजेट निर्माण गर्ने विज्ञ टोलीमा समेत सामेल थिए ।
मन्त्रिपरिषद मातहत समिति गठन
सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री र मन्त्रीहरु रहेको विभिन्न समिति गठन गरेको जानकारी श्रेष्ठले दिए । मन्त्रिपरिषदको कार्यसम्पादन नियमावलीबमोजिम राजनीतिक प्रशासनिक पूर्वाधार विकास सामाजिक र मानव अधिकार समिति गठन गरिएको हो ।

No comments:

Post a Comment