Tuesday, September 27, 2011

मन्त्रिपरिषदद्वारा सुरक्षा स्थिति फितलो भएको ठहर

गृहमन्त्रीलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन
काठमाडौं, १० असोज- मन्त्रिपरिषदले राजधानीको मुटु रत्नपार्कमा महानगरीय प्रहरी कार्यालयको बगलमै इस्लामिक संघ नेपालका महासचिव फैजन अहमदको दिनदहाडै हत्या हुनुले मुलुकको सुरक्षा व्यवस्था फितलो भएको प्रमाणित भएको निष्कर्ष निकाल्दै मुलुकभर सुरक्षा व्यवस्थालाई कडाइ गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा मुस्लिम समुदायका सामाजिक कार्यकर्ताको राजधानीमा हत्या भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई सुरक्षा स्थितिका बारेमा समीक्षा गरेको र सुरक्षा व्यवस्थालाई कडा पार्न गृह मन्त्री विजयकुमार गच्छदारलाई निर्देशन दिएको जानकारी सूचना तथा साचार मन्त्री जयप्रकाश गुप्ताले दिए ।
उनका अनुसार सरकारले फैजनको हत्याको घटनाको छानबिन गरी दोषी पत्ता लगाउन सहमहान्यायाधिवक्ताको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका डीआईजी रहेको समिति गठन गरेको छ । समितिमा राखिएका नामका बारेमा गुप्ताले जानकारी दिएनन् । फैजनको पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । कति राहत दिने भन्ने निर्णय गृह मन्त्रालयले गर्नेछ ।
सेनाको लोकतान्त्रिक कार्ययोजना परिमार्जन गरिने
मन्त्रिपरिषदले अघिल्लो सरकारले नेपाली सेनाको लोकतन्त्रीकरण गर्न अघि सारेर संसदको राज्य व्यवस्था समिति र दलहरुसमक्ष छलफलका लागि प्रस्तुत गरेको कार्ययोजना फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले सेनालाई राष्ट्रिय स्वरुप दिई अझ समावेशी र लोकतन्त्रीकरण गर्नका लागि कार्ययोजना फिर्ता लिएर तत्काल त्यसलाई परिमार्जन गर्ने निर्णय गरेको जानकारी गुप्ताले दिए । स्रोतका अनुसार सेनामा १० हजार मधेशीको सामूहिक प्रवेशको माग गर्दै आएका मधेशी मोर्चासम्बद्ध मन्त्रीहरुको मागबमोजिम सरकारले कार्ययोजना परिमार्जन गर्ने निर्णय गरेको हो ।
एक करोडसम्म आयस्रोत देखाउनुनपर्ने
सरकारले घरजग्गा खरिदमा १ करोड रुपैयाँ र गाडी खरिदमा ५० लाख रुपैयाँसम्मको आयस्रोत देखाउनुनपर्ने निर्णय गरेको छ । ४० लाख रुपैयाँ यो सोभन्दा बढीको घरजग्गा या गाडी खरिद गर्दा आय्रसोत देखाउनुपर्ने व्यवस्थाले घरजग्गा व्यवसायमा नकारात्मक असर परेको र मुलुकको अर्थतन्त्रमा समेत असर परेको आवाज उठेपछि सरकारले आयस्रोत देखाउनुनपर्ने सीमा वृद्धि गरेको हो । यो निर्णयले घरजग्गा व्यवसाय र अर्थतन्त्रमा सकारात्मक असर पर्ने दाबी सरकारको छ । सरकारले बजेटमा नै घरजग्गा खरिदमा १ करोड रुपैयाँ र गाडी खरिदमा ५० लाख रुपैयाँसम्मको आयस्रोत देखाउनुनपर्ने व्यवस्था गरेको थियो ।
एपीसी फिर्ताको पैसा कल्याण कोषबाट बेहोरिने
सरकारले सुडानमा काम नलाग्ने अवस्थामा रहेका नेपाल प्रहरीको शान्ति मिसनका चारवटा एपीसी मुलुकमा फिर्ता ल्याउन आवश्यक रकम प्रहरीको कल्याण कोषबाट बेहोर्ने निर्णय गरेको छ । घोटाला गरी काम नलाग्ने एपीसी खरिद गरिएको र तिनलाई सुडानमा राखिरहँदा ड्यामरेजलगायतका शुल्क तिरिरहनुपर्ने भएकाले तिनलाई फिर्ता ल्याउने र त्यसको खर्च कल्याण कोषबाट बेहोर्ने निर्णय भएको जानकारी गुप्ताले दिए । ती एपीसी काम नलाग्ने भएपछि सरकारले नयाँ एपीसी खरिद गरी प्रहरीको सुडान मिसनलाई पठाइसकेको छ ।
न्यायाधिकरण र अदालतको अध्यक्ष तोकिए
मन्त्रिपरिषदले राजस्व न्यायाधिकरण वैदेशिक रोजगार न्यायाधिकरण र सैनिक विशेष अदालतको अध्यक्ष तोकेको छ । न्याय सेवा आयोग र न्यायपरिषदको सहमतिमा अध्यक्ष तोकिएको हो । तर तीनै जना अध्यक्षको नाम सरकारले सार्वजनिक गरेको छैन ।
एनआरएन सम्मेलन गरिने
सरकारले मुलुकमा गैर आवासीय नेपालीहरुको विश्व सम्मेलन गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।
कैदीको सजाय मिनाहा
सरकारले दसैंको उपलक्ष्यमा पाँच वर्ष या सोभन्दा बढी कैद सजाय पाई ६० प्रतिशत या सोभन्दा बढी कैद भुक्तान गरेका कैदीहरुको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले जिल्ला कारागारहरुको सिफारिसमा उनीहरुको बाँकी सजाय मिनाहा दिने निर्णय गरेको जानकारी गुप्ताले दिए । यो निर्णयअनुसार कति जनलाई सजाय मिनाहा दिन लागिएको हो भन्ने सरकारले खुलाएन ।
लुगाभत्ता समान
सरकारले विभिन्न निकायमा रहेका राष्ट्रसेवकहरुको लुगाभत्तामा रहेको असमानतालाई अन्त्य गरेको छ । राष्ट्रपति कार्यालय अर्थमन्त्रालय वन मन्त्रालयलगायतमा लुगाभत्ता बढी रहेको र अन्यत्र कम भएको आवाज कर्मचारी युनियनहरुले उठाएपछि मन्त्रिपरिषदले सबै राष्ट्रसेवक कर्मचारीको लुगाभत्ता समान वार्षिक ७ हजार ५ सय रुपैयाँ कायम गरेको हो ।
प्रधानमन्त्रीको भ्रमण सफल
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री भट्टराईले राष्ट्रसंघीय महासभाका क्रममा आफूले गरेका द्विपक्षीय तथा बहुपक्षीय भेटघाटबारे मन्त्रीहरुलाई जानकारी गराउँदै भ्रमण अत्यन्त सफल भएको दाबी गरेका थिए । 'प्रधानमन्त्रीले आफ्नो भ्रमण नेपालको विकास शान्ति प्रकि्रया र मुलुकको पहिचानका लागि अत्यन्त सफल भएको धारणा राख्नुभएको थियो' गुप्ताले भने ।

No comments:

Post a Comment