Wednesday, September 7, 2011

मन्त्रीको निजी र स्वकीय सचिवालय विकृतिको जड ः अख्तियार

काठमाडौं, २१ भदौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मन्त्रीका निजी सचिवालय र स्वकीय सचिवालयले नाममा विभिन्न मन्त्रालय र मातहतका निकायमा अनेकौं विकृतिविसंगित बढाएको ठहर गर्दै अब आइन्दा त्यस्ता अनियमित कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारका मुख्य सचिव र सबै मन्त्रालयका सचिवहरुलाई अख्तियारको मंगलबारको निर्णयअनुसार बुधबार पत्र लेखी त्यस्ता विकृतिविसंगति रोक्न निर्देशन दिइएको जानकारी दिए ।
अख्तियारको छानबिनका सिलसिलामा मन्त्रीका निजी सचिव र स्वकीय सचिवालयमा ठूलो संख्यामा रहने कर्मचारीहरुले मन्त्रालय मातहतका विभाग संस्थान कार्यालय र विकास आयोजनाहरुमा अनधिकृत रुपमा पत्र लेखी दबाब दिएर व्यापक रुपमा गाडी इन्धन आर्थिक सहायता लिने गरेको थुप्रै उदाहरण भेटिएको अख्यितारका अधिकारीले बताए ।
मन्त्रीका निजी र स्वकीय सचिवालयमा आवश्यकता र राख्न पाउनेभन्दा बढी संख्यामा मन्त्रीका आफन्त स्थायी र अस्थायी कर्मचारी रहने गरेको र उनीहरुले मन्त्रीको लेटरप्याड प्रयोग गरी नाजायज ढंगले आर्थिक स्वार्थपूर्ति गर्ने गरेको र कर्मचारीको सरुवा बढुवामा हस्तक्षेप गर्ने गरेकोसमेत अख्तियारको अनुसन्धानमा उल्लेख छ । मन्त्रीहरुले राख्न पाउने कुनै व्यवस्था नभए पनि विभिन्न मन्त्रालयमा आफ्ना कार्यकर्तालाई प्रेस सल्लाहकारलगायत विभिन्न सल्लाहकारका रुपमा राख्ने गरेकोसमेत अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले यस्ता विकृति र विसंगतिलाई रोक्न मन्त्रीको निजी र स्वकीय सचिवालयसम्बन्धी तत्काल प्रस्ट निर्देशिका बनाएर लागू गर्न र स्वकीय सचिवालयमा कार्य गर्ने कर्मचारीहरुको आचारसंहिता निर्माण गर्नसमेत सरकारलाई निर्देशन दिएको छ । निर्देशिकामा निजी र स्वकीय सचिवालयमा मन्त्रीले कुनकुन तहका कर्मचारी कति जना राख्न पाउने प्रस्ट व्यवस्था गर्नसमेत अख्तियारले निर्देश गरेको छ ।

No comments:

Post a Comment