Tuesday, September 6, 2011

भट्टराई एक घन्टा अगावै प्रधानमन्त्री कार्यालयमा

काठमाडौं, २० भदौ- नवनियुक्त प्रधानमन्त्री डा। बाबुराम भट्टराई आफ्ना पूर्ववर्तीहरुभन्दा एक घन्टा अगावै बिहान नौ बजे नै िसंहदरबारस्थित कार्यालयमा आउन थालेका छन् । बिहान १० बजे कार्यालय जाँदा बाटामा ट्राफिक जाममा पर्ने गरेकाले भट्टराई एक घन्टा अगावै आउन थालेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
आफू १० बजे कार्यालयमा जाँदा आफ्ना लागिमात्र ट्राफिकले जाम हटाउँदा ठूलो संख्यामा सर्वसाधारणले झन् बढी ट्राफिक जामको सास्ती बेहोर्नुपरेको देखेपछि उनी चाँडै जान थालेको ती अधिकारीले उल्लेख गरे । भट्टराईले बिहानको खानासमेत कार्यालयमा नै खाने गरेका छन् । प्रधानमन्त्री निवास फर्किएर खाना खाएर आउन धेरै समय लाग्ने भएकाले भट्टराईले कार्यालयमै खाने गरेका हुन् ।
'१० बजे कार्यालय आउँदा यातायात जाम हुन्छ म आउँदा ट्राफिकले अरु गाडीलाई रोकेर मलाई ट्राफिक जाम हुन नदिने प्रयास गर्दा आमजनताले झन् बढी दुःख भएको पाएँ त्यसैलाई म ९ बजे नै कार्यालयमा आउन थालेको हुँ' प्रधानमन्त्रीले आफूहरुलाई भनेको कुरा उद्धृत गर्दै ती अधिकारीले भने ।
बिहान चाँडै कार्यालयमा आउँदा भेटघाट गर्न आउने भीडसमेत नआइसक्ने भएकाले प्रधानमन्त्रीले कामकाज गर्न सजिलो भएको अनुभव गरेको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार बिहान नौ बजे आउने प्रधानमन्त्रीले हरेक दिन बाहिर कार्यक्रम परेका दिनबाहेक कम्तीमा ५ बजेसम्म र कहिलेकाहीँ अबेरसम्म कार्यालयमा बसेर कामकाज गर्ने गरेका छन् ।
'भट्टराई प्रधानमन्त्री कार्यालयमा पूरै समय बसेर काम गर्नुहुन्छ यसअघिका कुनै पनि प्रधानमन्त्री कार्यालयमा कम र प्रधानमन्त्री निवास बालुवाटारमा बढी बस्ने गर्थे' प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने- 'बालुवाटार नै कार्यालय भएजसरी उनीहरुले मन्त्रिपरिषद बैठकसमेत त्यहीँ गर्ने मुख्यसचिव र सचिवलाई त्यहीँ फाइलसहित बोलाएर काम गर्ने/गराउने गलत परिपाटी थियो । त्यो गलत परिपाटीलाई प्रधानमन्त्रीले अन्त्य गर्ने प्रयास गर्नुभएको छ ।'
भट्टराई बिहान नौ बजे नै आउन थालेपछि मुख्यसचिव माधव घिमिरेसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका चारै जना सचिव र उच्च पदस्थ अधिकारीसमेत बिहान नौ बजे नै कार्यालय आउन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अरु सबै कर्मचारीलाई पनि बिहान नौ बजेदेखि नै कार्यालयमा आउन अनिवार्य गर्ने तयारीसमेत भइरहेको जानकारी एक अधिकारीले दिए ।

No comments:

Post a Comment