Tuesday, September 13, 2011

माओवादी लडाकुद्वारा साँढे ११ करोडको बिजुली खपत

काठमाडौं, २७ भदौ- माओवादीका लडाकुका सात प्रमुख र २१ सहायक शिविरमा चार वर्षको अवधिमा साँढे ११ करोड रुपैयाँ बराबरको बिजुली खपत भएको छ । सरकारले शिविरहरुलाई कुनै सीमा नतोकी बिलअनुसारको महसुल तिरिदिने निर्णय गरेकाले माओवादी लडाकुहरुले अत्याधिक मात्रामा बिजुली खपत गरेका कारण गत वैशाख मसान्तसम्ममा जरिवानाबाहेक नै साँढे ११ करोडभन्दा बढी महसुल उठेको जानकारी शान्ति मन्त्रालयका अधिकारीहरुले दिएका छन् ।
शान्ति मन्त्रालयका एक अधिकारीका अनुसार महसुल समयमै नबुझाएको जरिवानासमेत तिर्ने हो भने सरकारले प्राधिकरणलाई थप साँढ दुई करोड रुपैयाँ तिर्नुपर्छ । शान्ति मन्त्रालयले शिविरमा खपत भएको बिजुलीको महसुल बुझाउन ढिलो गरेबापतको जरिवाना मिनाहा गरिदिन विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।
नेपाली सेनाको तुलनामा १९ हजारको संख्यामा रहेका माओवादी लडाकुले बढी बिजुली उपभोग गरेको स्रोतले उल्लेख गरेको छ । १९ हजार नेपाली सेनाले यति ठूलोमात्रामा बिजुली खपत नगर्ने जानकारी एक सैनिक अधिकारीले दिए ।
सरकारले दुईपटक गरी शिविरको बिजुलीको महसुल बुझाएको छ । शिविरको बिजुलीको महसुल सरकारले पहिलोपटक आर्थिक वर्ष २०६५÷६६ मा २ करोड ६५ लाख र हालै ८ करोड ८६ लाख रुपैयाँ बुझाएको हो । जरिवानाबापत प्राधिकरणलाई थप साँढे दुई करोड रुपैयाँ तिर्न बाँकी नै छ । प्राधिकरणले शिविरको वक्यौता नतिरेमा शान्ति मन्त्रालयकै बिजुलीको लाइन काटिदिने चेतावनी दिएपछि हतारमा जरिवानाबाहेकको महसुलमात्र बुझाइएको जानकारी एक अधिकारीले दिए ।

No comments:

Post a Comment