Monday, September 26, 2011

२० उद्योगद्वारा ७ करोडभन्दा बढी विद्युत् चोरी

काठमाडौं, ९ असोज- विद्युत् प्राधिकरणले एक सातामा ८१ वटा ठूला तथा मझौला औद्योगिक तथा व्यापारिक ग्राहकको मिटर निरीक्षण गर्दा २१ वटामा गम्भीर कैफियत गरी ७ करोड रुपैयाँभन्दा बढी अन्डर बिलिङ उठ्नुपर्नेभन्दा कम उठेको गरी बिजुली चोरी गरिएको पाइएको छ । विद्युत् प्राधिकरणका अधिकारीहरुले भदौ २८ देखि असोज ६ सम्म गरिएको निरीक्षणका क्रममा ७ विद्युत् वितरण केन्द्रका ८१ वटा ग्राहकको मिटर जाँच गर्दा नै यति ठूलो रकम हिनामिना भएका पाइएपछि देशभर यस प्रकारको बिजुली चोरीको स्थिति कहालीलाग्दो रहेको उजागर गरेको बताए ।
ऊर्जामन्त्री पोष्टबहादुर बोगटी र सचिव बालानन्द पौडेलको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्माले ऊर्जा मन्त्रालयमा सोमबार सम्मेलन गरी धादिङ गोरखा काबासोती भरतपुर टाँडी सिमरा र वीरगन्जसहित सातवटा वितरण केन्द्रअन्तर्गतका ठूला तथा मझौला ग्राहकको मिटर जाँच गर्दा २० औद्योगिक ग्राहकले त्यति ठूलो आर्थिक हिनाहिना गरेको पाइएको सार्वजनिक गरेका हुन् ।
शर्माका अनुसार ठूला तथा मझौला औद्योगिक ग्राहककहाँ प्राधिकरणले ६६ र ३३ केभीए प्रसारण लाइनबाट सर्वसाधारणको भन्दा आधुनिक विशेष प्रकारको मिटर जडान गरेको छ जुन मिटरमा राति बिहानदेखि बेलुका र पिक आवरमा फरक फरक विद्युत् महसुल उठ्छ र त्यसको बिलिङ पनि मिटर आफैंले गर्छ । प्राधिकरणले ठूला तथा मझौला ग्राहकका त्यस्ता विशेष मिटर भएका ठाउँमा मात्र निरीक्षण गरेको हो ।
उनले मिटरमा कैफियत गरी प्राधिकरणलाई ठग्ने ती ठूला तथा मझौला ग्राहकलाई जरिवानासहित अन्डर बिलिङ गरेको रकम हिसाब गरी तिराउने र कारबाही गर्ने प्रकि्रया अघि बढाइएको जानकारी दिए ।
शर्माका अनुसार निरीक्षणका क्रममा कम बिलिङ हुने गरी विद्युत दुरुपयोग गरिरहेका ठूला तथा मझौला ग्राहकमा त्रिवेणी स्पिनिङ मिल्स केपी सिमेन्ट, निरापस प्लास्टिक उद्योग, सफारी उड्भेन्चर लज, श्री सिमरन क्रसर उद्योग, कोसी ग्यास उद्योग, घिमिरे फर्निचर र पपुलर राइस मिललगायत छन् ।
त्रिवेणी स्पिनिङ मिल्सले एक्लैले ५ करोड रुपैयाँभन्दा बढी अन्डर बिलिङ गरी प्राधिकरणलाई ठगेको पाइएको छ । यी ग्राहकलाई जरिवानासहित अन्डर बिलिङ गरेको रकम तिराउने र विद्युत् वितरण नियमावलीअनुसार कारबाही प्रकि्रया अघि बढाइएको जानकारी शर्माले दिए ।
निरीक्षण गरिएका ८० ग्राहकका मिटरमध्ये २० वटामा पाँच किसिमका कैफियत भेटिएका थिए कसैले मिटरमा करेन्ट ट्रान्सफर्मर उल्टो जडान गराएको र यसो गर्दा कुल उठ्नुपर्ने बिलको दुई तिहाइ कम बिल उठ्छ । कुनै ग्राहकको मिटरमा पोटे_िन्सयल ट्रान्सफर्मर छुटेको र यसो गर्दा एक तिहाइ बिल कम उठ्छ । कुनै ग्राहकको मिटरमा गुणन कारक अंक छुटाइएको, जसले गर्दा बिल नै कम उठ्ने, कसैको मिटरमा मिटरिङ युनिटको सिटी रेसियो नै फरक पाइएको, कम क्षमताको स्वीकृत लोड भए पनि प्राधिकरणको स्वीकृति नलिई बढी लोड चलाएको. केही वितरण केन्द्रमा टर्मिनल सिल नलगाएको सिल लगाएर पनि सिलप्लायरको सट्टा वायर कट्टरले थिचेको, कतिपय स्थानमा मिटर बाकस खुल्ला रहेकोजस्ता गम्भीर कैफियत भेटिएका थिए ।
कार्यकारी निर्देशक शर्माले विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले अब यस्ता निरीक्षणलाई निरन्तर जारी राखिने बताए । उनले प्राधिकरणको वक्यौता उठाउने अभियानका क्रममा ४६ करोड ५० लाख रुपैयाँ उठिसकेको र त्यसमा औद्योगिक तथा व्यापारिक ग्राहकको ५ करोड ३० लाख रुपैयाँ रहेको जानकारी दिए ।
उनका अनुसार वक्यौता नतिरेका ग्राहकको लाइन काट्ने क्रममा २ हजार ३ सय ४१ उद्योगको समेत लाइन काटिएको थियो जसमध्ये वक्यौता रकमको आधा तिरी बाँकी पाँच किस्तामा बुझाउने सम्झौता गरेका धेरैजसो उद्योगको लाइन जोडिसकिएको छ ।
प्राधिकरणले विद्युत् चुहावट बढी भएका क्षेत्रमा लोडसेडिङ पनि बढी गर्ने नीति सुरु गरिएको छ । 'कुनै कुनै फिडरमा ७५ प्रतिशतसम्म विद्युत् चुहावट छ चुहावट बढी गर्नेलाई बढी लोडसेडिङ गर्न थालिएको छ' उनले भने ।


No comments:

Post a Comment